•  ५ जेष्ठ २०८१, शनिबार
  •  8:36:56 PM

विराटनगरका प्रमुखको सम्पत्ती : बजारमा साढे चार विगाहा जमिन, साथमा तीन करोडको प्राडो

- श्रावण १०, २०७९ मा प्रकाशित


विराटनगर / विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बजार क्षेत्रमा आफ्नाे नाममा साढे चार विगाहा जमिन रहेकाे उल्लेख गर्दै सम्पत्ती विवरण बुझाएका छन् । विराटनगरको धनाड्य परिवारका सदस्यकाे रुपमा परिचित कोइरालाले वडा नम्बर १५ र वडा नम्बर ११ मा गरी साढे चार विगाहा जग्गा  रहेकाे विवरणसहित  सम्पत्ती विवरण बुझाएका हुन् । 

प्रमुख कोइरालाले आफ्नो नाममा रहेको मात्रै सम्पत्ती विवरण बुझाएका हुन् । उनको परिवारका सदस्यको नाममा रहेको सम्पत्ती विवरणमा उल्लेख नभएकाे प्रेस सल्लाहकार मिनकुमार मवाेदित श्रेष्ठले बताए । विराटनगर १५ मा कित्ता नम्बर ३६, ४१, १२१, १५७ र ५९८ मा गरी २८ हजार ७ सय १९ दशमलव ७८ वर्गमिटर अर्थात् ८५ कठ्ठा जग्गा कोइरालाको नाममा छ ।

साबिक विराटनगर १५ हाल विराटनगर ११ मा पर्छ । सबै जग्गा आफ्नो पैत्रिक सम्पत्ती रहेको उनले भरेको विवरणमा उल्लेख छ । विराटनगर ११ मा पैत्रिक सम्पत्तीबाट पाएको ११ कठ्ठा जग्गा पनि आफ्नो रहेको उनले बताएका छन् । सो जग्गा भाईको नाममा रहेको कैफियतमा उल्लेख छ ।कोइरालाले २० वर्ष अगाडि खरिद गरेको ८० तोला सुन रहेको विवरण पनि बुझाएका छन् ।

साे सुन ८ लाख रुपैयाँमा सुन किनेको उनले उल्लेख गरेका छन् । उनको सानिमा बैंकमा १० लाख रुपैयाँ नगद छ ।कोइरालाले आफ्नो नाममा रहेको टोयोटाको प्राडो १ थान रहेको बताएका छन् । जसको मूल्य ३ करोड ३० लाख रुपैयाँ रहेको विवरणमा उल्लेख छ । उनले आफ्नौ सबै सम्पत्ती पैत्रिक रहेको उल्लेख गरेका छन् ।

Comments