•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:54:54 AM

कृषि प्रधान देश : कांकरभिट्टा नाकाबाट ११ महिनामा दुई करोड ५२ लाखबढीको धान आयात

- असार १७, २०७९ मा प्रकाशित


काकडभिट्टा ।  खाद्यान्न आयातमा मुलुकको करोडौं रुपैयाँ बाहिरिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टानाकाबाट मात्र वर्षेनी धान आयातमा करोडौं रुपैयाँ बाहिरिने गरेको मेची भन्सार कार्यालय काँकरभिट्टाको तथ्याङ्कले पुष्टि गर्दछ । कार्यालयका सूचना प्रविधिका कम्प्यूटर अपरेटर अरुण शाहका अनुसार चालु आर्थिक वर्ष २०७८÷०७९ को जेठ मसान्तसम्म मात्र २ करोड ५२ लाख ६५ हजार ७१ रुपैयाँ बराबरको धान नेपालले आयात गरेको छ । त्यो अवधिमा १ करोड ७० लाख ३६ हजार ३ सय ३८ केजी धान आयात गरेको कार्यालयले जनाएको छ ।

कृषि प्रधान मुलुकमा प्रचारमुखी कार्यक्रम गरेर विविध कार्यक्रम गरे पनि धानको परनिर्भरता भने बर्सेनी बढ्दै छ । कुनै बेला धान–चामल कम्पनीनै खोलेर निर्यात गर्ने देश अहिले सबैभन्दा बढी आयात गर्नेको सूचीमा परेको छ । कार्यालयको तथ्याङ्क हेर्ने हो भने आर्थिक वर्ष २०७६/२०७७ देखि चालु आर्थिक वर्ष २०७८/०७९ को जेठ मसान्तसम्म हरेक वर्ष धानको आयात बढ्दो क्रममा छ ।

आर्थिक वर्ष २०७६/२०७७ मा १३ लाख ९२ हजार ४ सय ५५ रुपैयाँ मुल्य बराबरको ९ लाख ५७ हजार १ सय २० केजी धान काँकरभिट्टा नाका भएर आयात गरिएको थियो । आर्थिक वर्ष २०७७/२०७८ मा धानको आयात ह्वात्तै बढ्यो । १ करोड ५५ लाख १५ हजार ७ सय १० रुपैयाँ मुल्य बराबरको १ करोड २ लाख ६१ हजार ५ सय ८७ केजी धान त्यो वर्ष नेपालले आयात गर्यो ।

कृषि उत्पादन विस्तारका अनेकन प्रयासका बावजुत् नेपालको धान आयात भने चुलिँदै गएको छ । प्रमुख खाद्यान आयातमा मुलुकबाट वर्षेनी करोडौं रुपैयाँ विदेशिने गरेको छ । किसानलाई मल, बीउ जस्ता आधारभूत सामग्री समयमै दिन नसक्दा धानको उत्पादकत्व बढाउन नसकिएको किसानको भनाई छ । हरेक वर्ष कृषि क्षेत्रको विकासका लागि भनेर गरिएको खर्चसमेत वास्तविक किसानले पाउन नसकेको अवस्था छ ।

कृषि क्षेत्रको उत्पादकत्व बढाउन भन्दै सरकारले विभिन्न अनुदानका कार्यक्रम ल्याएपनि ती सबैको परिणाम सकारात्मक नुहँदा आवश्यकताको तुलनामा उत्पादन विस्तार हुन नसकेको कृषि विज्ञहरुको भनाई छ । किसानको आत्मसम्मान बढाउने कार्यक्रमसमेत बजेटमा स्पष्ट व्यवस्था गरिएको छ । तर मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने विषय केवल नारामै सीमित छ । हरेक वर्ष धान रोप्ने खेत क्रमशः घट्दै गएको छ । मलिलो र बढी उब्जनी हुने फराकिला फाँट र खेतीयोग्य जमिन आजकल प्लटिङ गरिएको छ । खेती गर्नेको आत्मसम्मान समेत बढ्न सकेको छैन । सोही कारण हरेक वर्ष मुख्यः खाद्य बाली धानमा समेत नेपाल परनिर्भर हुनु परेको छ ।

झापा जिल्लामा बर्खे र चैत धान दुई सिजनमा कृषकले लगाउने गरेका छन् । झापा जिल्लामा ९८ हजार ७ सय हेक्टर खेतीयोग्य जमिन भए पनि गत वर्षलाई आधार मान्दा ८५ हजार ७ सय ५० हेक्टर जग्गामा मात्र रोपाइँ भएको कृषि ज्ञान केन्द्र झापाका कार्यालय प्रमुख सागर विष्टले जानाकरी दिनुभयो । जिल्लामा वाषिर्क ४ लाख १५ हजार ६ सय टन धान उत्पादन हुन्छ । मलखाद, उन्नत बीउ, प्रविधि र सिाचाइको अभावले आवश्यकता अनुसारको उत्पादन गर्न नसक्दा पनि धामा परनिर्भर हुनु परेको सरकारी अधिकारीहरुको भनाई छ । जिल्लामा औसत धान उत्पादकत्व प्रति हेक्टर ४ दशमलव ८ टन उत्पादन हुने उहाँको भनाई छ ।

३० वर्ष अघिसम्म नेपालले धान चामल खाडीदेखि अमेरिकासम्म निर्यात गर्दथ्यो । तर, अहिले परनिर्भर छ । उत्पादन लागत बढेको भन्दै किसान कृषिबाटै पलायन हुँदासमेत किसानलाई टिकाउने कार्यक्रम आउनै नसकेको कृषक राम राईको भनाई छ । देशभित्र धान उत्पादन विस्तार गर्ने र विदेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य गर्नेतर्फ सरकारले बेलैमा सोच्नुपर्ने छ ।

Comments