•  ५ जेष्ठ २०८१, शनिबार
  •  3:22:02 AM

रातमा दिलमायासँगै रहेका पुरुषको बयान : म निदाएपछि सलले पासो लगाएर आत्महत्या गरिन् त्यसपछि म भागेँ

- असार १५, २०७९ मा प्रकाशित


काठमाडौँ । गायिका दिलमाया सुनार मृत्यु प्रकरणमा प्रहरीले एक शंकाष्पद व्यक्तिलाई पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एक शंकाष्पद व्यक्तिलाई पक्राउ गरेको हो ।सुनारको मृत्यु हुँदा एक जना पुरुष पनि साथमै रहेकाले घटना थप शंकास्पद बनेको अनुसन्धानमा संलग्न प्रहरीका एक अधिकृतले बताए । ती शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।ती पुरुषले नाटकीय बयान दिएका छन् ।

‘हामी सँगै थियौं । म सुतिरहेको बेला निदाएछु । उनले पछ्यौरीले पासो लगाएर आत्महत्या गरिसकिछन् । त्यसपछि म डरले त्यहाँबाट हिडें ।’ प्रहरीसमक्ष ती व्यक्तिले प्रारम्भिक सोधपुछमा भनेका छन् । तर, पासो लगाएको भनिएको सल र मृतक सुनारको मोबाइल घटनास्थलमा फेला परेको छैन । जसलाई प्रहरीले घटना लुकाउन शंकास्पद ती व्यक्तिले चलखेल गरेको हुन सक्ने आशंका गरेको छ । मृतक सुनारको फेसबुक र टिकटक अकाउन्टमा पनि उनले निराशाजन्य सामग्री तथा भिडियो पोस्ट गरेको देखिन्छ । ती पोस्ट उनी आफैंले वा उनीसँगै बस्ने अर्का व्यक्तिले गरेको हो भन्नेमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सुनारको मृत्युबारे अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार केही समयअघिबाटै उनी श्रीमानसँग सम्बन्ध विच्छेद गरी काठमाडौंमा बस्दै आएकी थिइन् । उनका एक छोरा छन् । उनी सुर्खेतमा मामाघरमा बस्दै आएको पनि खुलेको छ । यता काठमाडौंमा सुनार गहना पसलमा काम गर्ने एक व्यक्तिसँग लिभिङ टुगेदर’मा भएको पनि खुलेको छ । प्रहरीका अनुसार सुनारको मृत्यु हुँदा ती व्यक्ति एउटै कोठामा थिए ।हाल प्रहरी नियन्त्रणमा रहेका उनले आफू घटना हुँदा एउटै कोठामा रहेको स्विकारेका छन् । तर, आफू निद्रामा भएका बेला सुनारले सलले पासो लगाएर आत्महत्या गरेको दाबी उनले गरेका छन् । तर, घटनापछि उनी फरार भएका कारण सुनारको मृत्यु‚ आत्महत्या वा मारिएको हो भन्नेमा निचोडमा पुगिसकेको छैन ।

Comments