•  ५ जेष्ठ २०८१, शनिबार
  •  4:11:16 AM

आज पनि देशभर भारी वर्षाको सम्भावना, शुक्रबारसम्मै सतर्कता अपनाउन विभागको आग्रह

- असार १५, २०७९ मा प्रकाशित


काठमाडाैं । आज पनि देशभर भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । भारी वर्षाबाट नदीनालाहरुको जलस्तर बढ्न सक्ने भएकाले किनाराका बस्ती र होचा स्थानका वासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । 

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेकोले अहिले देशभर सामान्य देखि पूर्ण बदली रहि धेरै स्थानहरुमा वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहने र देशका धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ । 

मुलुकका अधिकांश स्थानमा अहिले मेघ गर्जन र चट्याङसहित भारी वर्षा भइरहेको छ। बाँकी सबै क्षेत्रमा हल्का देखि मध्यम वर्षा भईरहेको र यो अवस्था दिनभरि नै रहनसक्ने सम्भावना रहेको छ। महाशाखाका अनुसार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी वर्षा र थोरै स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा भारी वर्षा र कर्णाली प्रदेशको एक–दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम महाशाखाले जनाएको छ। यस्तै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन–यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ।

बिहिबार दिउँसो पनि देशका धेरै स्थानहरुमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। विशेषगरी प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षा हुनसक्छ । शुक्रबार पनि मौसममा खासै परिवर्तन आउने छैन । प्रदेश नं १ का एक–दई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

Comments