•  ५ जेष्ठ २०८१, शनिबार
  •  12:29:18 AM

मेयर बनेपछि बदलिएका हर्क साम्पाङ : आफै कामदार ,आफै मालिक : काम गर्न कती सहज, कती असहज ?

- असार १४, २०७९ मा प्रकाशित


इटहरी । पहिलो पटक कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुको ‘तारो’ बनेका हर्क साम्पाङ के गर्दैछन् ? के उनलाई काम गर्न सहयोग भइरहेको छ कि असहयोग भइरहेको छ ? भन्ने विषयमा सबैको चासो छ । उनले आफूलाई अहिलेसम्म त्यस्तो असहज केहीपनि नभएको बताएका छन् । ‘मलाई त्यस्तो कुनै असहजता छैन, सबैले सहयोग गरिरहनु भएको छ,’ उनले भने, ‘जे जस्तो आइलाग्छ त्यसलाई त्यस्तै तरिकाले मिलाउँदै जाने हो, म डराएको पनि छैन, मलाई अप्ठ्यारो लागेको पनि छैन ।’

पुराना नीति, नियय, कानून र प्रक्रियाले झण्झट भएको छैन भन्ने प्रश्नमा पनि उनले कुनै समस्या नभएको बताए । ‘हैट त्यस्तो अप्ठ्रो लागेकै छैन,’उनले भने । उपमहानगरपालिकाका उपप्रमुख आइन्द्रविक्रम बेघाले पनि प्रमुखसँग सहज ढंगले काम भइरहेको बताए । ‘काम गर्न एकदम सहयोग भएको छ, कतिपय नमिलेका विषयहरु मिलाउने गरी मैले पनि प्रमुखज्यूलाई सहयोग गरेको छु,’ बेघा भन्छन्, ‘उहाँ आफैं धेरै सक्रिय र बुझ्ने भएको कारण मलाई पनि सहज भएको छ, उहाँको एजेण्डा र मेरो एजेण्डा जनताकै समस्या समाधान गर्ने भएकोले कुनै अप्ठ्यारो छैन ।’

पहिलो कार्यपालिकको बैठकमा विवाद भएपछि दोस्रो बैठक बस्न नसक्दा बेघाले नै सहजीकरण गरेका थिए । जसका कारण साम्पाङले प्राविधिक पक्षमा काम गरिरहँदा बेघाले राजनीतिक शक्ति सन्तुलनको भूमिका खेलिरहेका छन् ।साम्पाङ भने कहिले खोलाखोल्सा चाहर्दै त कहिले खानेपानीको आयोजनाको चुहावट रोक्न तल्लिन देखिन्छन् । उनी आफ्नो खानेपानीको एजेण्डामा लागिरहेका छन् ।

‘दिनभरी जिमभित्र फलाम उचालेर बोसो घटाउने युवाहरुलाई पकुवा खोलामा प्राकृतिक वातावरणमा शारीरिक श्रम गरेर धरानलाई पानी खुवाउन सहयोग गर्न आव्हान गर्दछु,’ साम्पाङले गत शनिबार सामाजिक सञ्जाल फेसबुकमा आव्हान गरेका छन् ।उनले आव्हान गरेजस्तै कतिपय युवाहरु शनिबार पकुवाखोलामा गएर खानेपानी धरान ल्याउने काममा खटिएका थिए । उक्त दृश्य हेरेर हर्क साम्पाङका एक युवाले भनेका छन्, ‘यो काम टेण्डर लगाएर ठेक्कामा गर्न थालेको भएयति समयमा कामपनि हुँदैन थियो र उपमहानगरपालिकाको कम्तीमा ५० लाख सकिने थियो ।’

स्वतन्त्र उम्मेद्वारी दिएर धरान उपमहानगरको प्रमुख पदमा विजयी बनेका हर्कराज साम्पाङको समय निक्कै व्यस्त छ । उनी प्रत्येक दिन नागरिक सचेतनाका काममा जुट्छन् । सरसफाइ, फोहोर व्यवस्थापन, पानीको स्रोत व्यवस्थापन, ट्राफिक सचेतनालगायतका काममा उनको व्यस्तता बढीरहेको छ । उनले लागू औषध प्रयोगको विरुद्धमा पनि सामाजिक सञ्जालमार्फत अभियान चलाइरहेका छन् ।

Comments