•  ५ जेष्ठ २०८१, शनिबार
  •  1:53:26 AM

बिभिन्न घटनामा परी माेरङमा एकै दिन ४ जनाकाे मृत्यु

- जेष्ठ १८, २०७९ मा प्रकाशित


इटहरी । विभिन्न घटनामा परेर  मोरङमा एकै दिन मङ्गलबार चार जनाको मृत्यु भएको छ । विराटनगरमा तीन जना र बेलबारीमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेर र रुखबाट लडेर दुई जनाको मृत्यु भएको हो । अरु दुई जना मृत फेला परेका छन् । मृतक सबै पुरुष हुन् । जसमा दुई जना वृद्ध छन् । 

बेलबारी नगरपालिका–८ का ७४ वर्षीय वृद्ध चन्द्रमान गुरुङको रुखबाट लडेर मृत्यु भएको छ । भाउन्नेको जङ्गलमा बाख्रालाई घाँस काट्न गएका उनी हल्लुडेको रुखबाट लडेर गम्भीर घाइते भएका थिए । 

गुरुङको उपचारका क्रममा विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा साँझ ६ः२० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार घाँस काट्न चढेको रुखको हाँगा भाँच्चिएर घटना भएको पाइएको छ । 

यसैबीच, विराटनगर महानगरपालिका–१० मा मोटरसाइकलको ठक्करबाट एक जना वृद्ध पुरुषको मृत्यु भएको छ । को ३९ प ७८९५ नम्बरको मोटरसाइकलको ठक्करबाट विराटनगर–१२ का ८५ वर्षीय मुसा यादवको मङ्गलबार साँझ ६ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । 

अघिल्लो दिन दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो । दुर्घटनालगत्तै फरार रहेका मोटरसाइकल चालकको खोजी जारी राखिएको प्रहरीले जनाएको छ । 

त्यस्तै, विराटनगर–४ स्थित मोटर ग्यारेजमा काम गर्दै आएका ३५ वर्षीय सुमित दाहाल साँझ मृत फेला परेका छन् । धीरज ठकुरीको ग्यारेजमा काम गर्दै आएका दाहालको शव घोप्टो परेको अवस्थामा फेला परेको हो । 

अत्यधिक मादक पदार्थ सेवन (मापसे) गरेका कारण उनको मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ । घटनाका बारेमा अनुसन्धान थालिएको र हालसम्म मृत्युको कारण पत्ता लाग्न नसकेको डिएसपी श्रेष्ठले बताए । 

विराटनगर–१२ आइतबारे नहर चोकनजिक साँझ एक जना पुरुष मृत फेला परेका छन् । पहिचान नखुलेका अन्दाजी ३२ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ । 

शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखिएको छ । मृतकको पहिचानका लागि आफन्त र परिवारका सदस्यको खोजी सुरु गरेर घटनाको अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले जानकारी दिए । 

Comments