•  ५ जेष्ठ २०८१, शनिबार
  •  2:16:16 PM

एमालेलाई जिताए इटहरीको विकासको जिम्मा आफूले लिने ओलीको भनाइ

- बैशाख २४, २०७९ मा प्रकाशित


इटहरीः नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले इटहरी विकासको जिम्मा आफ्नो भएको बताएका छन् ।

आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै पार्टीले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्न इटहरी आएका ओलीले चुनावमा आफूहरुको पार्टीलाई जिताए आफ्ना प्रतिनिधिमार्फत् नगरको विकासको जिम्मा आफूले लिने बताएका हुन् । आगामी निर्वाचनमा इटहरीमा आफूहरुकै सरकार बन्ने कुरामा विश्वस्त हुँदै ओलीले इटहरी पूर्वाञ्चलको केन्द्रविन्दु भएकाले देशभरबाट यहाँ आउनेले शहरलाई देखेर आहा भन्न सक्नुपर्ने धारणा राखे ।

नगरको विकासका लागि बजेटको अभाव हुन आफूले नदिने उनको भनाइ थियो । इटहरीको विकासका लागि आफ्नो पार्टी नै उत्तम विकल्प भएको उनले उल्लेख गरे । उनले भने, ‘यहाँ छाप्रा देख्न नपरोस्, भत्किएका बाटा देख्न नपरोस्, थोत्रा भएका छाना, भित्ता भएका स्कुल देख्न नपरोस्, राम्रा अस्पताल देख्न परोस्, राम्रा विद्यालय देख्न परोस्, राम्रा कार्यालयहरू देख्न परोस्, त्यस ढंगले यो नगरको विकास होस् ।’

बैशाख ३० गतेका लागि निर्धारित स्थानीय तहको निर्वाचनमा पार्टीले नगर अध्यक्षसमेत रहेका यामकुमार सुब्बालाई मेयर र संगीता चौधरीलाई उपमेयरको उम्मेदवार बनाई प्रतिस्पर्धामा उतारेको छ । उनीहरुका प्रतिद्वन्द्वीका रुपमा संयुक्त गठबन्धनले नेपाली कांग्रेसका नगर सभापति हेमकर्ण पौडेललाई मेयर र नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार बिष्टलाई उपमेयरको उम्मेदवार बनाएको छ ।

Comments