इटहरी डेस्क । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले माओवादी अहिले खुकुरीको धारमा हिँड्नु परेको बताएका छन्। शनिबार धनकुटामा माओवादीको छथर गाउँपालिकाको अधिवेशनलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारको विरोध गर्न संसद्मा राजावादीसँगै उभिनुपर्दा पीडा हुने गरेको बताए।
‘भष्ट्राचारको विरोध गर्न संसद्मा राजावादीसंग उभिनु पर्दा पीडा हुन्छ,’ किरातीँले भने, ‘कथित राजावादीको विरोध गर्दा भष्ट्राचारीहरुसंग उभिनु पर्दा झन पीडा हुन्छ। राजनैतिक र नैतिक रूपमा हामी माओवादीलाई निक्कै संकटछ। किनभने हामी माओवादी गणतन्त्रको जनानी हौ। भष्ट्राचार हाम्रो शत्रु हो। त्यसैले भष्ट्राचार हामी सहन सक्दैनौँ।’
फरक प्रसँगमा उनले अब माओवादी फरक कित्तामा उभिनुपर्नेमा जोड दिए। ‘हामी आफ्नै खुट्टामा खडा हुनुपर्छ र एकचोटी गणतन्त्रको पक्षमा बलिदानी पूर्ण ढंगले गर्जिनुपर्छ,’ किराँतीले भने, ‘संगै भष्ट्राचारीहरुको भण्डाफोर गर्दैजानुपर्छ।’
उनले भिजिट भिसाको नाममा मानव तस्करी गर्ने सरकारले विश्वसामु नेपालीको छवि धमिलो बनाएको समेत आरोप लगाए। ‘भिजिट भिसाको नाममा मानव तस्करी गर्ने नालायक सरकारले आज विश्वसामु नेपालीको छबि धमिलो बनाएकोछ,’ किराँतीले भने, ‘गृहमन्त्रीको राजीनामा र प्रधानमन्त्रीले संसद्मा उभिएर जवाफ नदिए हामी संसद्लाई लडाइँको मैदानमा परिणत गरिदिने छौँ।’
Discussion about this post