इटहरी । सौन्दर्य कला व्यवसायी संघ नेपालले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा समाजप्रति उत्तरदायित्व वहन गर्ने उद्देश्यले इटहरी-२ स्थित माया घर नेपालमा खाद्यान्न, लत्ताकपडा वितरण तथा एक छाक खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको छ।
संघको जिल्ला कमिटी सुनसरी र नगर कमिटी इटहरीको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा माया घरमा आश्रित बालबालिका तथा ज्येष्ठ नागरिकलाई आवश्यक सामग्रीहरू प्रदान गरिएको हो।
संघकी सुनसरी अध्यक्ष विजु श्रेष्ठका अनुसार, “सौन्दर्यकला व्यवसायले सामाजिक उत्तरदायित्व अन्तरगत एक दिन भए पनि माया घरका आश्रितहरूलाई सहयोग पुगोस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो।”
यसै अवसरमा संघले पूर्वाञ्चल क्याफेमा वार्षिक साधारणसभा पनि सम्पन्न गरेको छ। साधारणसभामा संघको आर्थिक प्रतिवेदन, आगामी वर्षको कार्ययोजना तथा भावी गतिविधिबारे छलफल गरिएको थियो। कार्यक्रममा केन्द्रीय अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो।
साधारणसभामा सौन्दर्यकला व्यवसायमा देखा परेका समस्याहरू समाधान गर्ने र व्यवसायीहरूको हकहितको संरक्षण गर्दै संस्थागत रूपमा अगाडि बढ्ने विषयमा समेत विमर्श गरिएको थियो।
कार्यक्रम अध्यक्षता विजु श्रेष्ठले गरेकी थिइन् भने इटहरी नगर अध्यक्ष निर्मला बस्नेत, केन्द्रीय उपाध्यक्ष लिला राई, सल्लाहकार मुना कार्की लगायत संघका अन्य पदाधिकारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
Discussion about this post