इटहरी । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। एनओसीले शुक्रबार एक कार्यक्रम गर्दै छात्रवृत्ति दिएको हो। एनओसीले सन् २०२८ मा हुने एलए ओलम्पिक, २० औं एसियाली खेलकुद २०२६ र डकार युथ ओलम्पिक २०२६ का १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको हो।
एलए ओलम्पिकका लागि विभिन्न ८ खेलका खेलाडीले तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलरको छात्रवृत्ति पाएका छन्। यसरी ओलम्पिक छात्रवृत्ति पाउने खेलाडीमा ब्याडमिन्टनका प्रिन्स दाहाल, साइक्लिङकी उषा खनाल, गल्फका सद्भावना आचार्य, जुडोकी मनिता श्रेष्ठ प्रधान, टेबल टेनिसकी इभाना थापा, टेनिसकी शिभाली गुरुङ, स्पोर्ट क्लाम्बिङकी तेन्जिङ बेर्टिन राई, पौडीका इर्भिन श्रेष्ठ छन्।
२० औं एसियन एसियाली खेलकुदका लागि आर्चरीका तिलक पुन मगर, बक्सिङका चन्द्रबहादुर थापा, करातेकी एरिका गुरुङ र सानुमाया थिङ तथा उसुकी सुस्मिता तामाङले छात्रवृत्ति पाउनेछन्। युथ ओलम्पिक गेम्सका लागि रश्मि तामाङले छात्रवृत्ति पाउनेछिन्। एसियन र युथ ओलम्पिकका लागि छात्रवृत्ति पाउनेले मासिक ५० हजार रुपैयाँ पाउनेछन्।




























Discussion about this post