इटहरी । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा शनिबार चितवन राइनोजलाई ८ विकेटले पराजित गर्दै लिग चरण विजयी रूपमा समापन गरेको छ।चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले १९.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। दुवै टोली पहिले नै प्लेअफ दौडबाट बाहिरिइसकेकाले खेल प्रतिष्ठाका लागि मात्रै थियो।
पोखराले ७ खेलमा ३ जितसहित ६ अंक जोड्दै पाँचौँ स्थानमा लिग सकायो। चितवन भने ७ खेलमध्ये ५ खेलमा हार बेहोर्दै ४ अंकमै सीमित रह्यो ।अब आइतबार जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच लिग चरणको अन्तिम खेल हुनेछ। दुवै टोलीको समान २ अंक रहेको छ ।
पोखराका लागि ओपनर रोसिङटनले ४८ बलमा ४ चौका र ५ छक्कासहित ६५ रन बनाए। उनले अर्जुन कुमालसँग पहिलो विकेटका लागि १४.२ ओभरमा १०० रनको साझेदारी गरे। कुमालले ५३ बलमा ४३ रन जोड्दै अविजित रहे।कप्तान कुशल भुर्तेल ४ रनमा आउट भए भने जेसन रोय ६ रनमा अविजित रहे।बलिङमा चितवनका सैफ जैब र रिजन ढकालले समान एक/एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२० रन बनाएको थियो।चितवनका लागि देव खनालले ३५ रन जोडे। यसै खेलबाट एनपीएलमा डेब्यू गरेका युगान्डाका अल्पेश राम्जानीले २२ बलमा अविजित ३३ रन बनाए। कप्तान कुशल मल्लले २३ र सैफ जैबले १७ रन जोड्न सफल भए।
७ रनमै ३ विकेट गुमाएको चितवनलाई देव र जैबले ३८ रनको साझेदारी गर्दै उकासे । देवले कप्तान मल्लसँग २५ रनको साझेदारी गरे भने अन्त्यतिर मल्ल र राम्जानीले छैटौँ विकेटका लागि ३९ रन थपे। पोखराका धनन्जय लक्षनले ३.४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए। विपिन खत्री, रोहित चन्द र किरण ठगुन्नाले एक/एक विकेट हात पारे।




























Discussion about this post