इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत देशभर तयारी तीव्र बन्दै जाँदा सुनसरीका चारवटै क्षेत्रमा पनि चुनावी अभियान सुरु भइसकेको छ। सुनसरीको क्षेत्र नं. ४ लाई हेर्दा नेकपा एमाले र नेपाली कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
अघिल्लो प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचन २०७९ मा यी दुवै दलका उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो। २०७९ को प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले ३१ हजार ५ सय मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रभावशाली नेता एवं पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले ३१ हजार ६१२ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए।
कार्कीले झिनो मतान्तरसहित कुसियतलाई पराजित गरेका थिए। यो क्षेत्र वर्षौंदेखि कांग्रेस र एमालेको गढ मानिँदै आएको छ। यो पटकको निर्वाचनमा पनि यी दुवै प्रतिस्पर्धी चुनावी मैदानमा छन्। कांग्रेसका कार्की अघिल्लो निर्वाचनभन्दा अत्यधिक मतान्तरले जित निकाल्ने दाउमा छन् भने एमालेका कुसियत अघिल्लो पटक भोगेको पराजयको बदला लिने दाउमा छन्।
यस निर्वाचन क्षेत्रमा सुनसरी–४ अन्तर्गत कोशी गाउँपालिका, भोक्राहा गाउँपालिका, बराह नगरपालिका वडा नं. ६–११, रामधुनी नगरपालिकाको वडा नं. ४, इनरुवा नगरपालिकाका वडा नं. ३, ४, ८ तथा हरिनगर गाउँपालिकाका वडा नं. १, २ र ४–७ समेटिएका छन्। यीमध्ये हरिनगर, भोक्राहा नरसिंह र बराहक्षेत्र कांग्रेसको मुख्य गढ मानिन्छन्। त्यस्तै, कोशी र रामधुनी एमालेको मुख्य गढ मानिए पनि पछिल्लो समय त्यस्तो देखिएको छैन। कुसियतको घर कोशी गाउँपालिका भए पनि अघिल्लो २०७९ को निर्वाचनमा उनलाई आफ्नै क्षेत्रमा पर्याप्त भोट नखसेको कुरा मतपरिणामबाटै देखिएको छ।
दुवै प्रतिस्पर्धी अहिले मतदाता रिझाउन घरदैलो अभियानमा व्यस्त छन्। हरेक निर्वाचनमा कांग्रेस–एमाले विजेता र उपविजेता बन्दै आएको यस क्षेत्रमा यस पटक कसले बाजी मार्ने हो, अहिले नै भन्न सकिने अवस्था छैन। यता सिङ्गो देश घण्टिमय बन्दै जाँदा सुनसरीमा पनि चुनाव चिह्न ‘घण्टी’ रोज्ने मतदाताको क्रेज बढ्दो छ। कांग्रेस–एमालेको टकराव त छँदैछ, तर वर्तमान अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी पनि यस क्षेत्रमा बलियो दाबेदारका रूपमा प्रस्तुत भएको छ।
पुराना दलहरूप्रति निराश भएका मतदाता यस पटक नयाँ अनुहार र नयाँ दल रोज्ने मुडमा देखिएका छन्। उसो त बालेनले इन्ट्री मारेसँगै स्वतन्त्र पार्टीको घण्टीमा भोट हाल्न मतदाता उत्साहित देखिएका छन्। सुनसरी–४ मा रास्वपाले यस पटक दीपक साहलाई उम्मेदवार बनाएको छ। अघिल्लो निर्वाचनमा जीवन श्रेष्ठलाई उम्मेदवार बनाउँदा उनले ५ हजारभन्दा बढी मत ल्याएका थिए। अहिले भूगोलअनुसार त्यहीँको माटोमा भिजेका उम्मेदवारलाई उठाएपछि त्यहाँका जनता उत्साहित देखिएका छन्।
यता राप्रपाले पनि चुनावी अभियानलाई तीव्रता दिएको पाइन्छ। क्षेत्र नं. ४ मा उम्मेदवारी दिएका प्रेमप्रसाद भट्टराईले अघिल्लो निर्वाचनमा झिनो मत ल्याएका थिए। यो पटक भने जित्ने दाबीका साथ उनै भट्टराई चुनावी मैदानमा उत्रिएका छन्।



























Discussion about this post