इटहरी । ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिकामा फेरि एक वृद्ध दम्पतीको बीभत्स हत्या भएको छ। एक महिनाअघि भएको दम्पती हत्या प्रकरण सेलाउन नपाउँदै चिशंखुगढी गाउँपालिका–६ भदौरेमा पुनः हत्या भएको हो।
भदौरेस्थित बोहोरे टोलमा ८० वर्षीय चन्द्रविक्रम राई र उनकी श्रीमती चन्द्रमाया राई लुटपाटपछि हत्या भएको अवस्थामा मृत फेला परेका हुन्। वडा अध्यक्ष बलराम कटवालका अनुसार दम्पतीले सञ्चालन गर्दै आएको सानो पसलमा लुटपाट गरी हत्या गरिएको प्रारम्भिक अनुमान गरिएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षा व्यवस्था कडा बनाएको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले घटनास्थल सुरक्षित राखिएको र अनुसन्धानका लागि प्रहरी टोली परिचालन भइरहेको जानकारी दिए।
यसअघि करिब एक महिनाअघि यही वडामा शोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको हत्या भएको थियो। उक्त घटनामा संलग्न आरोपमा चार जना पक्राउ परेर अनुसन्धान भइरहेको अवस्थामा पुनः अर्को हत्या भएपछि स्थानीयवासी त्रसित बनेका छन्।
लगातार भइरहेका हत्या घटनाले भदौरे क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै स्थानीयले दोषीलाई छिटो पक्राउ गरी कडा कारबाही गर्न माग गरेका छन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।



























Discussion about this post