इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन क्षेत्र नम्बर ५ का दक्षिणी भेगका कार्यकर्तासँग भेटवार्ता गर्दैछन्। झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले उम्मेदवारी दिएपछि ओली दबाबमा परेका छन्।
जिल्ला पार्टी सचिव तुलसी कार्कीका अनुसार गौरादह नगरपालिका ५ स्कूलचोकको नमूना कृषि खेतीको सभाहलमा ओलीको कार्यकर्ताहरुसँग भेटघाटको कार्यक्रम तय गरिएको छ। अध्यक्ष ओलीले गौरादह नगरपालिकाका ८ वटा र गौरीगञ्जका ६ वटा वडाका वडा कमिटीसँग अलग अलग भेटघाट गर्ने कार्यक्रम रहेको कार्कीले बताए।
वडाका पदाधिकारी तथा सदस्यहरुले मतदाताको मुड, विकासको अवस्था र पार्टी कामका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराउने छन्। कार्यकर्ताको गुनासो, पार्टीको नीति, देशको आवश्यकता र झापा ५ का लागि आफूले गरेका योगदान बारेमा ओलीले कार्यकर्तालाई जानकारी गराउने तयारी छ।
ओलीले आजै भदौ २४ गते जेन जी आन्दोलनको क्रममा आगलागी र तोडफोड गरिएका संरचनाको पनि निरीक्षण गर्ने कार्यक्रम रहेको छ। जेनजी आन्दोलनमा गौरादह नगरपालिका, गौरादह नगरपालिका १, ७ र २ नम्बर वडा कार्यलय, मुख्यमन्त्री हिक्मत कार्की, मेयर छत्रपति सुवेदी, उपमेयर जलवर्षा राजवंसी लगायतको घरमा आगजनी भएको थियो। अध्यक्ष ओलीले मंगलबार र बुधबार दमक नगरपालिका र कमल गाउँपालिकाका वडा कमिटीहरुसँग अलग अलग छलफल गरेका थिए। यस पटक हरेक वडा कमिटीहरुले अध्यक्ष ओलीसँग अलगअलग भेट गर्ने व्यवस्था मिलाइएको कार्कीले जानकारी दिए।




























Discussion about this post