इटहरी ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भद्रपुर बिमानस्थलमा नेता कार्यकर्ताले स्वागत गरेका छन्। भद्रपुरस्थित चन्द्रगढी बिमानस्थलमा उनको भब्य स्वागत गरिएको हो। उनी त्यहाँबाट विर्तामोड हुँदै दमक जाँदैछन्।झापा आएका ओली आजदेखि होटलमा बस्दैछन्। नेकपा एमालेका अध्यक्ष ओली जेनजी आन्दोलनपछि पहिलो पटक झापा आएका हुन्। पुस २१ गते ओलीको स्थान हद फुकुवा भएपछि उनी पहिलो पटक झापा आउँदा कार्यकर्ताहरु उनको स्वागतका लागि पुगेका थिए।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि ओलीलाई लामो समयसम्म स्थान हद तोकिएको थियो। विमानस्थलबाट सिधै ओली विर्तामोड हुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए। उनका अनुसार, आज २ बजे दमक स्थित होटल कामाक्षमा पत्रकार सम्मेलन गर्ने तयारी छ।
माघ ६ गते मनोनयन दर्ताको तालिका रहेकाले निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै सीमित व्यक्तिको उपस्थितिमा मनोनयन गर्ने र त्यसपछि मात्र चुनावी रणनीतिक योजनाहरू निर्माण गरिने एमाले झापाले जनाएको छ। विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले सरकारले अझै चुनावी बातावरण बनाई नसकेको बताएका छन्।
उनले चुनावी वातावरण नहुँदा नहुँदै पनि अब एमाले चुनावमा जान तयार रहेको स्पष्ट पारे। उनले भने, ‘मतदाताहरुमा त्रास, डर धम्की तथा सासमाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातापरण बनिसकेको छैन।’ओलीको स्वागत गर्न पुगेका एमाले कार्यकर्ताले नेपालको नक्सा र त्यसमा कालापानी, लिपुलेक लगायतलाई नक्सामा समेटिएको प्रचार त्यसलाई समेटिएको पोस्टर ल्याएका थिए।



























Discussion about this post