भोजपुर । आसन्न प्रतिनिधिसभा चुनावका लागि भोजपुरमा हर्क साम्पाङको पार्टी श्रम संस्कृतिबाट ध्रुव राई उठ्ने भएका छन् । श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा राईलाई टिकट दिएको जानकारी दिएका हुन् ।साम्पाङले लेखेका छन्, ‘आदरणीय भोजपुरबासी आमाबाबा दाजुभाइ तथा दिदिबहिनीहरु, यसपाली भोट बदलेर चुनाव चिन्ह माटोमा सबैले भोट ओइराउनु होला । ध्रुव राई ज्युलाई श्रम संस्कृति पार्टीको प्रत्यक्ष तर्फउम्मेदवार बनाएकाछौं ।’
३९ सालमा भोजपुरको नागीमा सामान्य परिवारमा जन्मिएका ध्रुवराज भोजपुर बहुमुखी क्याम्पसमा २ पटक स्ववियू सभापति भएका थिए । अखिलको केन्द्रीय सचिवालय सदस्यसम्म पुगेका उनी केन्द्रीय उपाध्यक्षमा भने पराजित भएका थिए । उनलाई भोजपुरमा ‘आन्दोलनको छोरा’ नामले पनि चिनिन्छ । २०६२र६३ को जनआन्दोलनमा अग्र पंक्तिमा हिंडेका उनी आर्मीका ब्यारेक, प्रहरीरप्रशासनअगाडि हाक्काहाक्की राजाविरोधी नारा र भाषण गर्थे ।
२०७४ स्थानीय चुनावमा होमिएदेखि नै उनलाई ‘ध्रुवे हात्ती’ को उपमा दिइयो । एकताका चितवनमा ध्रुवे हात्तीको जगजगी थियो । धेरैलाई आतंकित पारेको ध्रुवे हात्ती खोज्न सरकारले नै टोली खटाएको थियो । कांग्रेस, माओवादी र संघीय समाजवादी फोरमको महागठबन्धनलाई हराएका कारण एमालेका ध्रुवराजलाई कार्यकर्ताहरूले ‘धुर्वे हात्ती’ को संज्ञा दिएका थिए ।
साविकको तिम्मा, छिनामखु, अन्नपुर्ण, नागी, खावा, कोट, गोगने र लेखर्क गाविस मिलाएर बनाइएको हो, टेम्केमैयुङ गाउँपालिका । २०७४ निर्वाचन अघि मट्टीतेलको टुकीमा अध्यारो चिर्नुपर्ने बाध्यता थियो, यो गाउँपालिका जनतालाई ।
निर्वाचनमा उनको पहिलो प्रतिबद्धता थियो, ‘म अध्यारो गाउँपालिकालाई उज्यालो घोषणा गर्छु अर्थात् हरेकको घरमा बत्ती–विजुली बाल्छु । टुकीको युग समाप्त पार्छु’ उनको यो घोषणालाई धेरैले ‘नेताको चुनावी भाषण’को भन्दै पत्याएनन् । धेरैले भनेका थिए, ‘चुनावको बेला यो ‘ध्रुवे’ले ठुलो कुरा गर्दैछ । तर निर्वाचित भएपछि उनले आफ्नो गाउँपालिकालाई उज्यालो घोषणा गररै छोडे ।
पर्यटनको सन्दर्भमा पनि उनको गाउँपालिका भोजपुरकै एक नम्बर पर्यटकीय केन्द्र बनेको छ । नेपालका जानैपर्ने एक सय गन्तव्यमा परेको ‘मुन्दुम पदमार्ग’ राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चिनिएको छ । ‘मुन्दुम पदमार्ग’को भौतिक संरचना निर्माणदेखि यसको प्रचार–प्रसार र प्रबद्र्धनमा उनी आफै खटे ।
५ वर्ष अधिकांश जनप्रतिनिधिलाई ‘ठाँट’ पल्टेको आरोप लागिरहँदा उनी यसबाट मुक्त भए । एउटा छड्के ब्याग कहिले छाडेनन् । फाट्टफुट्ट औपचारिक पोशाकबाहेक साधारण ड्रेसमै हिँड्थे । गाडीभन्दा बढी बाइकमै कुद्थे । ७९ को चुनावमा भने उनी कांग्रेसका सरोज बस्नेतसँग पराजित भए । राई ‘चुनावी नेता’ का रूपमा समेत परिचित छन् ।




























Discussion about this post