इटहरी। नेपाली सेनाको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर अन्तर्गत सैनिक अस्पताललाई सेनाकै मातहतमा रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रका पदाधिकारीहरूले सुविधा सम्पन्न विद्युतीय इ–रिक्सा (सिटी सफारी) हस्तान्तरण गरेका छन्।
केन्द्रको प्रांगणमा आयोजित एक कार्यक्रममार्फत पूर्वी पृतना हेडक्वार्टर इटहरीका पृतनापति उपरथी गौरवकुमार केसीलाई उक्त इ–रिक्सा हस्तान्तरण गरिएको हो।
इटहरीका विभिन्न क्षेत्रबाट बिरामीहरूलाई यथासक्य चाँडो सैनिक अस्पतालसम्म पुर्याउन र छरितो सेवा प्रदान गर्न यातायातको साधन स्वरूप सिटी सफारी हस्तान्तरण गरिएको सामुदायिक सर्पदंश उपचार केन्द्र इटहरीका अध्यक्ष दिवश पोखरेलले बताए।
सेनाको ब्यारेकभित्रबाटै सैनिक अस्पतालसम्म पुग्न केही समय लाग्ने भएकाले यहाँ सेवा लिन आउने सेवाग्राहीहरूलाई छिटो र छरितो स्वास्थ्य सेवा प्रदान गर्न उक्त सफारी हस्तान्तरण गरिएको अध्यक्ष पोखरेलले बताए।
सर्पदंश उपचार केन्द्र र सैनिक अस्पताल दुबै सेनाको ब्यारेकभित्रै रहे पनि दूरी केही टाढा भएकाले कहिलेकाहीँ केन्द्रबाट गम्भीर अवस्थाका बिरामीहरू बोकेर सैनिक अस्पताल पुर्याउन सवारी साधनको अभाव हुने गरेको र सैनिक अस्पतालबाट सफल उपचारपछि डिस्चार्ज भएका बिरामीहरूलाई घरसम्म पुर्याउन मद्दत पुगोस् भन्ने उद्देश्यले यो सफारी हस्तान्तरण गरिएको उनले बताए।
इटहरीमा सामुदायिक सर्पदंश उपचार केन्द्र स्थापना भएदेखि हालसम्म १९ हजारभन्दा बढी बिरामीहरूको सफल उपचार भइसकेको अध्यक्ष पोखरेलले जानकारी दिए।
इटहरीमा सैनिक अस्पताल स्थापना भएदेखि हालसम्म १९ हजारभन्दा बढी बिरामीहरूले सेवा लिइसकेको र यातायातको साधनको अभावले कहिलेकाहीँ समस्या हुने गरेको अवस्थामा सफारी पाएपछि केही राहत महसुस भएको सैनिक अस्पताल इटहरीका कमान्डेन्ट प्राविधिक महासेनानी डा. कुमार रोकाले बताए।
यातायात सेवा नपाएकै कारण केही बिरामीहरू सैनिक अस्पताल आइपुग्नै नपाई मृत्यु हुने गरेका घटनाहरू उल्लेख गर्दै डा. रोकाले सिटी सफारी प्राप्त भएपछि सेवाग्राहीहरूले छिटो र प्रभावकारी रूपमा स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गरे।
उक्त कार्यक्रममा सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवश पोखरेल, उपाध्यक्ष राजु थापा, कोषाध्यक्ष उदय सुब्बा, भगवती दलका गणपति प्रमुख सेनानी राजन मुखु लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।



























Discussion about this post