इटहरी । शनिबार बिहान मोटरसाइकलसँगै सुनसरीको वराहक्षेत्र नगरपालिका-१ स्थित दूधपानी खोलाले बगाएका सर्लाही हरिवनका २७ वर्षीय मनीष पञ्चकोटी अझै भेटिएका छैनन्।प्रहरीले स्थानीयसँगै खोजी गरिरहेको भए पनि सोमबार बिहानसम्म उनी फेला नपरेका हुन्।
शनिबार बिहान करिब १० बजेतिर बागमती प्रदेश ०२–०४७ प ७३८ नम्बरको मोटरसाइकलमा पत्नी २७ वर्षीया शिलु खड्गीसहित धनकुटातर्फ जाँदै गर्दा मनीषलाई खोलाले बगाएको हो।घाइते अवस्थामा तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकी शिलुको भने उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बेपत्ता मनीषलाई भने इलाका प्रहरी कार्यालय (महेन्द्रनगर), चतरा तथा अस्थायी प्रहरी पोस्ट (चतरा पुल) का टोलीसँगै स्थानीयले खोजी गरिरहेका छन्।घटनास्थलनजिकै दूधपानी खोला सप्तकोसी नदीमा मिसिने भएकाले खोजी चुनौतीपूर्ण रहेको प्रहरीले जनाएको छ।
यसअघि पनि यही स्थानमा यस्तै दुर्घटना भइसकेको छ।साउनमा धरान-१६ का व्यवसायी जीवन राई र उनकी १८ वर्षीया छोरी अनिता बुलेट मोटरसाइकलसहित खोलाले बगाउँदा छोरी बेपत्ता भएकी थिइन्। तीन दिनपछि उनको शव सप्तकोसी किनारमा फेला परेको थियो।



























Discussion about this post