इटहरी । सुनसरीका पत्रकारहरूले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिँदै कोशी प्रदेश सरकारको आमसञ्चार विधेयकविरुद्ध विरोध जनाएका छन्। नेपाल पत्रकार महासंघ सुनसरी शाखाको अगुवाइमा करिब एक घण्टा धर्ना कार्यक्रम सञ्चालन गरिएको हो।
कोशी प्रदेश सरकारले ल्याएको विधेयकमा समाचार लेखेकै कारण पत्रकारलाई १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था गरिएको छ। यस प्रावधानलाई प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन भन्दै पत्रकारहरूले खारेजको माग गरेका छन्।
विधेयकले कोशी प्रादेशिक आमसञ्चार प्रतिष्ठानमा अध्यक्षलाई औपचारिक भूमिकामा सीमित राख्दै सरकारद्वारा नियुक्त रजिस्टारलाई कार्यकारी अधिकार दिने व्यवस्था गरेको छ। यसले राजनीतिक हस्तक्षेप बढाउने भन्दै महासंघले आपत्ति जनाएको छ।शान्तिपूर्ण रूपमा सुरु भएको धर्ना कार्यक्रममा केहीबेर प्रहरी र पत्रकारबीच भनाभन तथा हल्का धक्का-मुक्कासमेत भएको थियो।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष अमर खड्काले प्रेस स्वतन्त्रता प्रतिकूल प्रावधान संशोधन नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिए। “सरकारले विधेयक फिर्ता नगरेसम्म पत्रकार चुप लाग्ने छैनन्,” उनले भने। नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिको चरणबद्ध आन्दोलन अन्तर्गत प्रदेशका १४ वटै जिल्लामा एकसाथ धर्ना कार्यक्रम सञ्चालन गरिएको हो।
तस्विर : लक्षमण थापा



























Discussion about this post