इटहरी । पूर्वराष्ट्रपति तथा नेकपा (एमाले)की पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार दिउँसो विराटनगरको पाञ्चालीस्थित एमाले मोरङ पार्टी कार्यालय पुगेकी छन्।पार्टी केन्द्र र प्रदेश नेतृत्वले कार्यालयमा कुनै कार्यक्रम नगर्न दिएको निर्देशनलाई अवज्ञा गर्दै भण्डारी पार्टी कार्यालय पुगेकी हुन्। कार्यालय पुगेपछि उनले त्यहाँ उपस्थित कार्यकर्तालाई सम्बोधन गर्दै आफ्नो राजनीतिक यात्राका अनुभव सुनाइन्।
कार्यालय प्रवेश लगत्तै भण्डारीले एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठ, पूर्वमहासचिव मदन भण्डारी र पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको सालिकमा माल्यार्पण गरिन्। नेताहरूको योगदान स्मरण गर्दै उनले ‘कम्युनिस्ट आन्दोलनलाई जनताको पार्टी बनाउन सबैको भूमिका महत्त्वपूर्ण रहेको’ उल्लेख गरिन्।
उनलाई जिल्ला कमिटी र विराटनगर महानगर कमिटीका नेताहरूले स्वागत गरेका थिए। यस क्रममा भण्डारीले भूकम्पपछिको लामो अन्तरालपछि पहिलो पटक विराटनगर पार्टी कार्यालय आएको बताइन्। उनले कार्यकर्तासँग संवाद गर्दै पार्टीभित्र सङ्गठन सुदृढ पार्न स्थानीय तहको भूमिका निर्णायक हुने विचार राखिन्।
भण्डारीको आगमनका बेला भने अध्यक्ष केपी शर्मा ओली नेतृत्वको संस्थापन पक्षका नेता–कार्यकर्ताहरू पार्टी कार्यालयमा देखिएनन्। संस्थापन पक्षले आफ्ना कार्यकर्तालाई भण्डारी सहभागी हुने कार्यक्रममा नजान पूर्व निर्देशन दिएको केही नेताहरूले बताएका थिए। यसकारण कार्यालयभित्र भण्डारी पक्षको मात्रै उपस्थिति बलियो देखियो।
मोरङ जिल्ला र विराटनगर महानगर कमिटीमा भण्डारी पक्षको प्रभाव उल्लेख्य छ। यसकारण उनी कार्यालय पुग्दा स्थानीय नेता तथा कार्यकर्ताले उत्साहपूर्वक स्वागत गरेका थिए।भण्डारीले आफू पार्टीको दुई पटकसम्म उपाध्यक्ष भएकोले अहिले पुनः सदस्यता नवीकरण गरिएको बताइन्। उनले पार्टी कार्यकर्तालाई उत्साहित बनाउन खोजेकी थिइन्।
नेकपा एमाले विराटनगर महानगरपालिका इन्चार्ज परशुराम बस्नेतले कुनै औपचारिक कार्यक्रम नगरिएको उल्लेख थिए।उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही सामाजिक सञ्जाल, फोन र मेसेजमार्फत आज भदौ ३ गते (मङ्गलबार) दिउँसो १२ बजे नेकपा (एमाले) जिल्ला कार्यालयमा पार्टी कार्यकर्ता भेलाको कार्यक्रम रहेको भनी प्रचार गरिएको पाइएको छ।
यस सन्दर्भमा स्पष्ट जानकारी गराउन चाहन्छु कि नेकपा (एमाले)को केन्द्रीय, प्रदेश वा जिल्ला तहबाट त्यस प्रकारको कुनै पनि कार्यक्रम निर्धारण गरिएको छैन।’ उनले जिल्ला कार्यालय वा विराटनगर महानगरपालिका भित्र पार्टीको कुनै पनि औपचारिक कार्यक्रम तय नगरिएको बताए।‘झुटो प्रचारप्रसार प्रति नझुक्किनुहुन सम्पूर्ण नेता, कार्यकर्ता तथा पार्टी प्रेमी जनसमुदायमा हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेका छन्।




























Discussion about this post