इटहरी । हिन्दू धर्मावलम्बीहरूका लागि श्रावण महिना अत्यन्त पवित्र र फलदायी महिनाका रूपमा चिनिन्छ।विशेषगरी सोमबारको दिन भगवान् शिवको आराधनामा समर्पित यस महिनामा भक्तजनहरू उपवास, पूजापाठ र मन्त्र–जपमा तल्लीन हुन्छन्।
श्रावण महिनामा सोमबार व्रत बस्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुने धार्मिक मान्यता छ। विशेषगरी महिलाहरूले मनोकामना पूर्तिका लागि व्रत बस्ने चलन छ भने ब्रह्मचारी, गृहस्थ, विवाहित र अविवाहित सबैले शिवको पूजा गर्न सक्छन्। विशेष गरी आजकै दिन साेमबार देशभरका शिवालय मन्दिरहरूमा भगवान शिवकाे पुजा आजाका साथै जल चढाउने भक्तजनहरूकाे घुइचाे लाग्ने गर्दछ ।
धरानकाे पिण्डेश्वाेर धाममा बिहानै देखि भक्तजनहरूकाे घुइचाे लागेकाे हाे । धार्मिक ग्रन्थहरू अनुसार श्रावणको सोमबार व्रतले पाप क्षय, मानसिक शान्ति, आरोग्यता र ऐश्वर्य प्राप्त हुन्छ। शिव पुराणमा उल्लेख भएअनुसार समुद्र मन्थनबाट निस्किएको कालकुट विष श्रावण महिनामै शिवले पिएर संसारको रक्षा गरेका थिए। त्यसैले यस महिनामा शिवको आराधना गर्नाले कल्याण हुने विश्वास छ।
सूर्य कर्कट राशिमा प्रवेश गरेपछि चन्द्रमा सशक्त हुने हुँदा भावनात्मक सन्तुलन र मानसिक स्थिरताको दृष्टिले पनि साउन विशेष मानिन्छ। शिवले चन्द्रलाई शिरमा धारण गरेकाले पनि सोमबार चन्द्र र शिवसँग विशेष सम्बन्ध मानिन्छ।
व्रत बस्नेहरूले आइतबार बेलुकी पूजा कोठा सफा गरी सोमबार बिहान ब्रह्म मुहूर्तमा उठी स्नान गरी सेतो वा पहेँलो वस्त्रमा शिवको पूजा गर्नुपर्छ। पूजा सामग्रीमा बेलपत्र, दूध, दही, मह, घिउ, सख्खर, फूल, फलफूल, धूपदीप, चन्दन, भाङ, धतुरो आदि समावेश गरिन्छ।
पञ्चामृत अभिषेक, ॐ नमः शिवाय वा महामृत्युञ्जय मन्त्र जप, शिव चालिसा, रुद्राष्टक, लिंगाष्टक आदि पाठ गरी शिवको स्तुति गरिन्छ। साँझपख दीप आरती गरी पूजा समापन गरिन्छ।
१. निर्जला व्रत — दिनभर पानी समेत नपिई बसेर भोलिपल्ट मात्र भोजन। २. फलाहार व्रत — दिनभर फल, दूध र पानी सेवन गर्न सकिने। ३. एक समय भोजन व्रत — बेलुकी सात्त्विक भोजन, लसुनप्याज निषेध।
शिवको आराधनाले शनि दोष, कालसर्प योग लगायतका ग्रहदोषहरू शान्त हुने मान्यता छ। व्रत, दान, पूजापाठ र मन्त्र–जपमार्फत आफूले चिताएको फल प्राप्त हुने धार्मिक विश्वास श्रावण सोमबारसँग गहिरो रूपमा गाँसिएको छ।



























Discussion about this post