इटहरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन देश जलाउने कि बनाउने बीचको प्रतिस्पर्धा हुने बताएका छन् । आफूलाई ‘देश बनाउने’ पक्षमा उभ्याउँदै उनले निर्वाचनमा देश हार्न नहुने दोहोर्याए ।शनिबार काठमाडौँको चाबहिलमा ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित प्रतिनिधि सभा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘तपाईँहरूले देशलाई विजयी बनाउनु हुनेछ, १६५ मध्ये एउटा ठाउँमा पनि देश हार्न हुँदैन।’
उनले चुनावमा झापा क्षेत्र नम्बर ५ मा आफ्नो प्रतिस्पर्धी बालेन साहतर्फ इङ्गित गर्दै भने, ‘मैले धेरै केही भन्नु पर्दैन । अण्डा दुई प्रकारका हुन्छन्– एउटा बतासे, एउटा साँच्चैको अण्डा। बतासे अण्डाबाट चल्ला निस्किँदैन।’ओलीले प्रतिपक्षीलाई ‘बतासका खेती’ गरिरहेको आरोप लगाउँदै भने, ‘यिनीहरूसँग सङ्गठन छैन, उद्देश्य छैन, बिचार छैन । भोलि उठी कहाँ जाने केही थाहा छैन । फर्की आउने हो कि होइन, त्यो पनि थाहा छैन ।’
अध्यक्ष ओलीले थपे, ‘पुल्ठो झोस्न जान्या छ, आगो बाल्न जान्या छ, देश बिगार्न जान्या छ, भड्काउन जान्या छ, तोडफोड गर्न जान्या छ, लुटपाट गर्न जानेको छ, आगजनी गर्न जान्या छ। यस्ता कुराहरूलाई क्रान्ति भनेर महिमामण्डन गरिएको छ ।’
प्रतिवादी गतिविधिको जनाधार नभएको उल्लेख गर्दै ओलीले भने, ‘यी आकाशे खेती हुन् । धर्तीमा उनीहरू जनतासँग पुग्या छैनन्। कहाँबाट कसले खेलाएका हुन् थाहा छैन। एउटा ह्वीम चलाइदिएको छ। एउटा मोबाइल भन्ने भाँडो, त्यही भाँडोबाट होडलो मच्चाइएको छ देशमा।’
ओलीले आफू र पार्टी जनतासँग काममा प्रतिबद्ध रहेको बताए । उनले भने, ‘हामी देशका लागि काम गर्छौँ र जनताका बीचमा छौँ। देशलाई समृद्ध बनाउँछौँ, सुरक्षित बनाउँछौँ र जनतालाई सुखी बनाउँछौँ। हामी त्यो गन्तव्यबाट विचलित हुँदैनौं ।’


























Discussion about this post