नवलपुर । २०१२ सालमा अमेरिकी सहयोगमा सुरु भएको ‘राप्ती दून विकास योजना’पछि पहाडी जिल्लाबाट ठूलो संख्यामा मानिस चितवन र नवलपरासी झरे। लालपुर्जा वितरणसँगै पहाडिया समुदाय थारु बस्तीमा मिसिँदा चितवन र आसपासको भूगोल तथा समाजले नयाँ रूप लियो।
गरिबी, उपेक्षा र अवसरको खोजीमा लमजुङ, बागलुङ, पर्वत, धादिङलगायत जिल्लाबाट झरेका पहाडियाहरू चितवन र नवलपरासीका नयाँ बासिन्दा बने। पूर्व–पश्चिम राजमार्ग विस्तारसँगै गैँडाकोट, देवचुली, कावासोती र बुलिङटार क्षेत्र क्रमशः विकसित हुँदै गए।
राजनीतिक विरासत र कांग्रेसको पकड
नवलपरासीको पूर्वी भाग पहाडियाहरूको घना बस्तीमा परिणत भए पनि रैथाने थारु समुदायको उपस्थिति कायमै रह्यो। २०४८ सालको निर्वाचनमा नेपाली कांग्रेसले मझिलाल थारु र सूर्यभक्त अधिकारीलाई उम्मेदवार बनाएर दुवैलाई विजयी गराएको तथ्य त्यसको उदाहरण हो।
इतिहासमा फर्किँदा, २००७ सालको क्रान्तिमा कांग्रेसको जनमुक्ति सेनाले ठोरी कब्जा गरेको थियो। २०१७ सालको ‘कु’पछि सुरु भएको सशस्त्र संघर्षमा ठोरी र चितवन कब्जा गरिए पनि पञ्चायती सेनाको प्रतिआक्रमणमा धेरै कार्यकर्ता सहिद भए। बाँचेका कांग्रेसीलाई नवलपुर क्षेत्रकै नेताहरूले संरक्षण दिएका थिए।
यही पृष्ठभूमिले नवलपरासीलाई लामो समय कांग्रेसको बलियो गढ बनायो। २०५१ सालको निर्वाचनमा पनि कांग्रेसका उम्मेदवारहरू विजयी भए। तर २०५६ सालमा चारमध्ये दुई क्षेत्रमा कांग्रेस पराजित भयो।
शशांक उदय र निरन्तरता
२०६४ सालको संविधानसभा निर्वाचनमा माओवादी लहरबीच बीपी कोइरालाका पुत्र डा. शशांक कोइरालालाई नवलपरासी पूर्वबाट उम्मेदवार बनाइयो। त्यसपछि उनी लगातार चारपटक कांग्रेसको उम्मेदवार बने। यसले पार्टीभित्र नयाँ पुस्तालाई अवसर नपाएको असन्तुष्टि पनि बढायो।
संघीय संरचनापछि नवलपरासी पूर्व अहिले नवलपुर नामले चिनिन्छ। यही नवलपुर–१ मा यसपटक शशांक उम्मेदवार छैनन्। कांग्रेस सभापति गगन थापाले उनलाई टिकट नदिएपछि कांग्रेसले कावासोतीका ५२ वर्षीय बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ।


























Discussion about this post