इटहरी । नेपाली कांग्रेसका सभापति गगन थापा उम्मेदवारी दर्तापछि पहिलो पटक मधेश पुगेका छन् । भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा समेत चर्चा गरिएका थापा सोमबार आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ पुगेका हुन् ।वारेसमार्फत मनोनयन दर्ता गरेका थापाले यसअघि काठमाडौंमा भूगोलका नेताहरूसँग निरन्तर भेटघाट गरेका थिए।
उम्मेदवार बनेपछि बाराको सिमरा विमानस्थल पुगेका थापालाई स्वागत गर्न ठूलो भीड देखिएको थियो।सर्लाही, बारा लगायत तराईका विभिन्न जिल्लाबाट कांग्रेसका कार्यकर्ता तथा समर्थकहरू उनको स्वागतका लागि सिमरा पुगेका थिए।सर्लाही-४ बाट उम्मेदवार बनेका थापाले अब आफ्नो क्षेत्रमा पार्टीका स्थानीय नेता, कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गरेर चुनावी अभियान सुरु गर्ने बताइएको छ ।
थापाको सर्लाही बसाइका क्रममा उनले आफ्नो क्षेत्र बाहेक समग्र मधेश प्रदेशको चुनावी क्याम्पेनको नेतृत्व गर्ने बताइएको छ । कांग्रेसले मधेश प्रदेशमा आगामी फागुन ७ गते चुनावी विशेष सभाको आयोजना गर्ने निर्णय गरिसकेको छ । यसैबिच नेपाली कांग्रेसका सभापति गगन थापाले मधेशसँगको सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले सर्लाही-४ बाट उम्मेदवारी दिएको बताएका छन् ।
उम्मेदवारी मनोनयन दर्तापछि सोमबार आफ्नो निर्वाचन क्षेत्र पुगेकै दिन भिडियो सन्देश जारी गर्दै सभापति थापाले मधेशसँगको साइनो औपचारिकतामा सीमित हुन नहुने बताएका हुन् । ‘मधेशको प्रतिनिधित्व गर्दै गर्दा त्यहाँका मुद्दा बुझ्दै गर्दा प्रकारान्तरले नेपालको सिङ्गो समस्या समाधानको गर्न सक्छु भन्ने विश्वास राखेको छ,’ सभापति थापाले भने।



























Discussion about this post