इटहरी । नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गगन थापा नेतृत्वको कांग्रेसलाई सबै पक्षले स्वीकार गरेर अघि बढ्नुपर्ने बताएका छन्।शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शर्माले भने, ‘निर्वाचन आयोगले जे निर्णय दिएको छ, त्यसलाई स्वीकार गरेर जाने बाहेक अर्को विकल्प छैन।’
उनका अनुसार संस्थापन पक्षबाट भएको उत्पीडनकै कारण विशेष महाधिवेशन हुन पुगेको हो र त्यसले निर्वाचित गरेको नेतृत्वलाई अस्वीकार गर्ने ठाउँ नरहेको छैन। उनले भने, ‘यो पार्टी फुटेको होइन, अधिवेशन भएको हो र यो पूर्ण रूपमा भ्यालिड भइसकेको छ।’
नेता शर्माले सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतका नेताहरूले असन्तुष्ट पक्षलाई मिलाएर लैजाने विश्वास व्यक्त गर्दै भने, ‘अब सबैले आफ्नो इगो त्यागेर कांग्रेसलाई एकढिक्का बनाएर लैजानुपर्छ।’लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक हुने उल्लेख गर्दै शर्माले भने, ‘लोकतन्त्रमा गुट र प्रतिस्पर्धा हुन्छन्, तर ती विधि र विधानभित्र हुनुपर्छ।’
आगामी निर्वाचनबारे उनले कांग्रेस एक्लै लड्ने दाबी गर्दै भने, ‘कांग्रेस अब गठबन्धनमा जाँदैन। २६५ वटै क्षेत्रमा आफ्ना उम्मेदवार उठाएर बहुमत ल्याउँछ र गगन थापा प्रधानमन्त्री बन्नुहुन्छ।’नेता शर्माले कांग्रेस विभाजित नभएको स्पष्ट पार्दै भने, ‘अब पार्टीभित्र विवाद जाने ठाउँ छैन, अब परिस्थिति चेन्ज हुन्छ।’



























Discussion about this post