इटहरी । नेपाली कांग्रेसले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको आवश्यकता रहेको निष्कर्ष निकालेको छ। शनिबार बानेश्वरमा बसेको केन्द्रीय समिति बैठकले देउवालाई अभिभावकीय भूमिकामा निरन्तर रहन आग्रह गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका प्रवक्ता देवराज चालिसेले देउवाले पार्टीलाई पुर्याएको योगदान र प्रदान गरेको नेतृत्वको उच्च मूूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय गरिएको जानकारी दिए।
‘शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई पुर्याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्यालंकन गर्दै आभार व्यक्त गर्ने निर्णय भएको छ,’ चालिसेले भने, ‘आगामी दिनमा पनि उहाँको अभिभावकीय भूमिका पार्टीका लागि निरन्तर रहिरहनेछ भन्ने विश्वासका साथ आजको बैठकले उहाँलाई आग्रह र सम्मान गरेको छ।’‘पार्टीलाई अझ बलियो बनाउन सबैले आआफ्नो तहबाट महत्वपूर्ण योगदान पुर्याउनुपर्छ भन्ने आग्रह बैठकले गरेको छ,’ उनले थपे।
चालिसेले पार्टी अब पूर्ण रूपमा निर्वाचन केन्द्रित गतिविधिमा लाग्ने पनि स्पष्ट पारे। ‘निर्वाचनका लागि समय निकै छोटो भएकाले तत्कालै संसदीय बोर्डको बैठक बस्ने निर्णय गरेका छौँ,’ उनले भने, ‘बोर्डको बैठकबाट उम्मेदवार छनोटलगायत निर्वाचनसम्बन्धी कामहरू चाँडो टुंग्याइनेछ।’ निर्वाचन आयोगले कांग्रेसको विधान र संविधानअनुसार नै पार्टीलाई आधिकारिकता प्रदान गरिसकेको उल्लेख गर्दै यस विषयमा मुद्दामामिला नगर्न अर्को पक्षलाई आग्रह पनि गरिएको चालिसेले जानकारी दिए।



























Discussion about this post