झापा । झापा क्षेत्र नम्बर ५ बाट बालेन्द्र शाह चुनाव लड्ने तयारीमा जुटेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै बालेनले काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि झापा-५ बाट चुनावी प्रचार सुरु गर्ने योजना बनाएका हुन् ।
झापा-५ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो । ओली यसअघि २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए। त्यस्तै आगामी निर्वाचनमा पनि त्यस क्षेत्रबाट ओलीको नाम एकल सिफारिस भइसकेको छ ।
बालेनले माघ पहिलो हप्ता काठमाडौँ महानगरपालिकाको मेयरबाट राजीनामा दिएपछि पहिलो चुनावी अभियान झापाबाट सुरु गर्ने उनको सचिवालयका एक सदस्यले जानकारी दिएका छन् ।
‘मेयर साबले आन्तरिक तयारी गरिरहनु भएको छ। महानगरबाट माघ २ वा ४ गते राजीनामा दिएर उहाँ चुनावी प्रचारमा निस्कनु हुन्छ,’ ती सदस्यले भने, ‘झापा–५ बाट चुनाव उठ्ने भन्ने छ। प्रचार अभियान पनि त्यहीँबाट सुरु गरेर सकभर १६५ वटै निर्वाचन क्षेत्रमा पुग्ने तयारी छ।’
रास्वपाले बालेनलाई प्रधानमन्त्री उम्मेदवारका रूपमा अघि सारेर निर्वाचनमा जाने निर्णय गरिसकेको जनाएको छ। पार्टीभित्रका नेताहरूले उनलाई झापा क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्न सुझाव र दबाब दिँदै आएका छन्।
‘उहाँलाई झापा ५ बाट उठ्न धेरैले सुझाव दिएका छन्। हामीले झापा ५ को पूरै वस्तुस्थिति अध्ययन र सर्वे गरिसकेका छौँ,’ अर्का एक सदस्यले भने, ‘उहाँप्रति जनचासो व्यापक देखिएपछि मेयर साबको त्यही क्षेत्रबाट उठ्ने चाहना बढेको हो।’
आइतबार रास्वपा झापाका अध्यक्षसहितको टोलीसँगको भेटमा पनि बालेनलाई झापा–५ बाटै चुनाव लड्न आग्रह गरिएको थियो । त्यसपछि उनले आइतबार साँझ चुनावी अभियान सुरु गर्ने सङ्केत दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘शुभकामना सबैलाई!! हामी आउँदै छौँ !!’ झापामा पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेका छन् ।




























Discussion about this post