इटहरी । नेपाली कांग्रेसका २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका छन्। देशभरबाट संकलित हस्ताक्षर कांग्रेस नेता गुरु घिमिरेले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाएका हुन्।
नेता घिमिरेका अनुसार १४औं महाधिवेशनमा निर्वाचित कुल प्रतिनिधि संख्याको झण्डै ५३ प्रतिशतले विशेष महाधिवेशनको माग गरेका छन्। ‘अहिलेको विषम परिस्थितिमा पार्टीलाई नयाँ गति र दिशा दिन विशेष महाधिवेशन अपरिहार्य भएको ठहर गर्दै यो निवेदन दिएका हौं,’ उनले भने।
उनका अनुसार यो माग पार्टीभित्रको विवाद वा विद्रोहको लागि नभई सुवर्णशम्शेर राणाजस्ता अग्रज नेताहरूले अंगालेको असल अभ्यासलाई निरन्तरता दिने प्रयास हो। ‘विशेष अवस्थामा विशेष महाधिवेशन माग गर्नु प्रतिनिधिहरूको विशेषाधिकार हो,’ घिमिरेले थपे।
जेनजी आन्दोलनपछि कांग्रेसभित्र नेतृत्वको आमूल परिवर्तनको माग तीव्र बनेको छ । सोही क्रममा नेताहरूले देशभर हस्ताक्षर संकलन अभियान सञ्चालन गरेका थिए। कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा पनि नियमित महाधिवेशन समयमै नहुन सक्ने अवस्था आए विशेष महाधिवेशनमार्फत समाधान खोज्नुपर्ने पक्षमा देखिएका छन् ।



























Discussion about this post