इटहरी डेस्क । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा जेनजी आन्दोलनपछि एक महिनाभन्दा लामो समयपछि भदौ २८ गते सार्वजनिक कार्यक्रममा सहभागी भए । भदै २४ गते आफ्नै निवासमा सांघातिक आक्रमणमा परेका देउवा कांग्रेसको केन्द्रीय कार्यालयमा प्रकट हुँदा पुरानै शैलीमा थिए ।
२४ भदौको घटनापछि ३६ औँ दिनमा सार्वजनिक भएका देउवाले पार्टी बैठकमा आफ्नो लिखित मन्तव्य पढे । आन्दोलनमा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरे, घाइतेहरूको सीघ्र स्वास्थ्य लाभको कामना गरे ।उनले प्रतिनिधि सभा विघटनप्रति असहमति जनाए, निर्वाचनको वातावरण बनिनसकेको सन्देश दिए र समयको माग अनुसार उपसभापति पूर्णबहादुर खड्कालाई कार्यकारी सभापति सुम्पेर अब पुरानै भूमिकामा नफर्कने सार्वजनिक सन्देश पनि दिए ।
यता, आन्दोलन चर्कँदै जाँदा समेत प्रधानमन्त्री पदबाट राजीनामा दिन आनाकानी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सेनाको सुरक्षा घेराबाट केही दिनपछि तामझामका साथ भक्तपुरको गुण्डुमा प्रकट भए ।उनले भदौ २३ र २४ को आन्दोलनलाई ‘विदेशी षडयन्त्र’ भन्दै सरकारले गोली हान्न आदेश नदिएको दाबी गरे । वर्तमान सरकारलाई ‘हाहाहुहु’ मा बनेको भन्दै गृहमन्त्रीलाई ‘धेरै नचम्कन’ सुझाव पनि दिए ।
ओलीले निर्वाचनमा होइन, प्रतिनिधि सभा पुनर्स्थापनाका लागि सडक र अदालत जाने पार्टीबाट निर्णय गराए । र, आफूले केही गल्ती नगरेका कारण नेतृत्व नछाड्ने अडान लिए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आन्दोलनको समयदेखि नै राष्ट्रपति, सेना, राजनीतिक दल र आन्दोलनकारी शक्तिबीच समन्वय गराउन भूमिका खेलेको दाबी गर्छन ।
आन्दोलनपछि केही दिन सेनाको घेरामा बसेर निस्किएका प्रचण्डले आन्दोलनकारी भन्दा अझ अघि बढेर प्रत्यक्ष कार्यकारीको माग गरे । पार्टीमा जेनजीको उपस्थिती सुनिश्चित हुने प्रतिवद्धता जनाए ।प्रतिनिधि सभा विघटन ठिक नभएको पनि भने । तर, निर्वाचनको तयारीमा जाने पनि भने । पार्टी नेतृत्व छोड्छु पनि भने र अन्य वापन्थी दलसँग एकता गरेर आफैं नेतृत्वमा रहिरहने योजना पनि बनाए ।
वास्तवमा ओली, देउवा र प्रचण्ड २०६२/०६३ को जनआन्दोलनपछि पालैपालो सत्तामा बस्दै आएका छन् । सत्ताका लागि तीनवटै टाउको एक भएको सन्देश पनि दिइरहेका छन् । उनीहरूकौ राजनीतिक सिन्डिकेटका कारण भदौ २३ र २४ गते जेनजी विद्रोह भयो ।जेनजी विद्रोहपछि पनि उनीहरूको आ–आफ्नो प्रवृत्ति स्पष्ट देखिएको छ । सत्ताका लागि सधैं एक जस्तो देखिने उनीहरूको स्वभाव जेनजी आन्दोलनपछि थप प्रष्ट देखिन्छ ।
प्रचण्ड- चतुर खेलाडी
प्रचण्डले जेनजी आन्दोलनका क्रममा आफूले संविधान निर्माणअघि नै राखेका नोट अफ डिसेन्टहरू ‘सार्वजनिक चेतावनी’ वा ‘सही कदम’ जस्ता भाष्यमा परिणत गराए । यो रणनीति उनलाई बुद्धिमान र चतुर देखाउँछ । आन्दोलनपछि उनले पहिलो कदम आफ्नै पार्टीको पुनर्संरचना र विघटन गर्दै सबैभन्दा बढी सक्रियता देखाए ।
यसले देखाउँछ कि प्रचण्ड राजनीतिक अवसर र अवस्था अनुसार छिटो अनुकूल हुने नेता हुन्, जो लामो समयका लागि आफ्नो प्रभाव कायम राख्ने सोचका साथ चल्छन् ।
देउवा- सोझा र विवेकशील
देउवा आन्दोलनको प्रभावबाट तत्कालै सक्रिय राजनीतिबाट अलग हुने निर्णय लिए । उनको निर्णय राजनीतिबाट केही दूरी राख्ने र भविष्यमा सकारात्मक छवि निर्माण गर्ने उद्देश्यको संकेत हो । यसले देखाउँछ कि उनी ढिलै भएपनी प्रधानमन्त्री हुने सत्ताको लालसाबाट मुक्त भइ, आफ्ना स्वास्थ्य र व्यक्तिगत रणनीतिमा ध्यान दिन थालेका छन् । उनले गरेको एउटा महत्त्वपूर्ण रियलाइजेसन हो ।
सम्भवतः उनी उपचारका लागि भोलि या पर्सि नै सिंगापुर या थाइल्यान्ड जाँदैछन । विदेश उपचार योजनाले उनको दीर्घकालीन योजना र सोचको परिपक्वता देखाउँछ। देउवा आफ्नो चाल र निर्णयमा दीर्घकालीन लाभको सोच राख्ने नेता हुन्।
ओली – प्रतिशोधी
ओली प्रतिशोधी देखिए । ओली पुरानो शैलीको नेता हुन् भित्रभित्रै इख बोकेर बस्छन् र मौका मिल्ने बित्तिकै आफूविरुद्ध बोलेका वा भनाइ नमान्नेहरूलाई कडा दण्ड दिन पछि पर्दैनन् । उनी केवल प्रत्यक्ष प्रतिक्रिया दिने मात्र होइनन्, आफ्नो भित्री रिस र असन्तोषलाई लामो समयसम्म भण्डारण गर्छन्, जसले अवसर मिल्दा उनी तत्काल र कठोर कदम चाल्न उक्साउँछ।
ओली अहिले अधीर छन्।
उनी अझै पर्याप्त सूचना नपाएको अनुभवमा छन् र आफूविरुद्ध उठेका चुनौतीहरूलाई भित्री रूपमा जाँच्न सकेका छैनन्। ‘मैले किन छोड्ने ?’ भन्ने भावनाले उनको मनोविज्ञानमा निरन्तर दबाब सिर्जना गर्दैछ। उनको शक्ति केन्द्रित सोच, व्यक्तिगत लालसा र प्रतिशोध मिलेर उनको मनोवैज्ञानिक र राजनीतिक अस्थिरतालाई बढाइरहेको छ।
बाबुराम भट्टराईका शब्दमा जेनजी आन्दोलनपछि ‘ओलीमा बाघ र प्रचण्डमा ब्वाँसो प्रवृति’ देखिएको छ ।



























Discussion about this post