इटहरी डेस्क । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूले पार्टी सभापति रवि लामिछाने नक्खु जेलबाट निस्किँदा पार्टीलाई गम्भीर क्षति पुगेको बताएका छन् ।असोज ७ र ८ गते बसेको केन्द्रीय समिति बैठकका क्रममा कतिपय नेताहरूले यस्तो धारणा राखेका हुन् ।
स्रोतका अनुसार नेताहरूले कारागारबाट रवि निस्कँदा उनको रिहाईका लागि हस्ताक्षर गर्ने ४० लाख पार्टी सदस्यको अपमान भएको बताएका थिए ।सहकारी ठगी प्रकरणमा अदालतको आदेशअनुसार कारागारमा रहेका रविलाई राजनीतिक प्रतिशोध साँधिएको भन्दै रास्वपाले देशव्यापी हस्ताक्षर संकलन गरेको थियो । उक्त अभियानमा ४० लाखले हस्ताक्षर गरेका रास्वपाको दाबी छ ।
पार्टीका सांसद तथा केन्द्रीय नेताहरूकै संलग्नतामा रवि लामिछानेलाई फर्जी कागजात बनाएर जेलबाट निकालिएको भन्दै आलोचना भइरहेको छ ।जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते सभापति रवि जेलबाट बाहिर निस्किएका थिए । उनलाई ‘रिसिभ’ कार्यवाहक उपसभापति डीपी अर्याल, सहमहामन्त्री विपीन आचार्य, प्रवक्ता मनिष झा, केन्द्रीय नेताहरु गणेश पराजुली, हरि ढकाल, ज्वाला संग्रौला लगायत पुगेका थिए ।
रविलाई लिन जाने नेताहरुको पनि बैठकमा चर्को आलोचना भएको थियो । उक्त दिनमा सहभागी भएकालाई कारबाही गर्नुपर्ने बैठकको आवाज उठेको एक नेताले बताए ।सभापति रवि निस्किँदा नख्खु पुगेका प्रवक्ता झाले आगो लगाउने कार्यमा आफू संलग्न नभई रोक्ने कार्यमा लागेको बताए । नख्खु कारागारमा देखिएको भिडियो क्लिपमा आधारमा आफू माथि पनि छानबिन गरियोस् भनि उनले माग गरेका छन् ।
बैठकमा सभापति रवि लामिछानेलाई भगाइएको भन्ने विषय उठेपछि रास्वपाले छानबिन गर्ने निर्णय गरेको छ । बैठकले यो विषय छानबिन गर्न समिति गठन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिएका छन्।यस्तै, केही सार्वजनिक तथा निजी सम्पत्तिमा आगजानी गर्न रास्वपाका नेताहरु संलग्न रहेको तस्बिर तथा भिडिओ सार्वजनिक भइसकेको अवस्थामा रास्वपाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने नर्णय गरेको छ।
रास्वपाको निर्णयमा भनिएको छ, ‘नख्खु कारागार लगायत अन्य केही स्थानहरुमा भएका घटनाहरूमा पार्टी सदस्यहरुको सम्भावित संलग्नता भएको नभएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्ने।’



























Discussion about this post