इटहरी । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर अभियान सञ्चालन गरेका छन् ।कांग्रेसको विधान अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन गर्नुपर्ने हुन्छ ।वरिष्ठ नेता शेखर कोइराला र महामन्त्री गगन थापा पक्षले महाधिवेशनको दबाब दिन हस्ताक्षर संकलन थालेका हुन् ।
सोमबार काठमाडौंमा बैठक गरी संस्थापन इतर समूहले जेनजी आन्दोलनपछिको विशिष्ट अवस्थामा विशेष महाधिवेशनमा जानुपर्ने निष्कर्षसहित हस्ताक्षर थालेको हो ।सो क्रममा एक सयभन्दा धेरै जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर गरी अन्यलाई पनि यो अभियानमा सहभागी हुन आग्रह गरेका छन्।
‘नेपाली कांग्रेसको स्थापनाकालदेखि नै पार्टीसामु धेरै संकटहरु उत्पन्न भए। हामीले ती सबै संकट र चुनौतीहरुसँग मुकाविला गर्यौँ। राष्ट्र, राष्ट्रियता र लोकतन्त्रमाथिका हरेक संकटको सामना गर्दै पार्टीमाथिका आक्रमणलाई परास्त गर्दै आएका छौँ,’ हस्ताक्षर पत्रमा उनीहरुले भनेका छन्, ‘तसर्थ यतिबेला उत्पन्न संकटलाई कसरी सामना गर्ने र भविष्यको यात्रा तय गर्ने भन्ने चुनौती हाम्रो अगाडि आइपरेको छ।’
उनीहरुले विगतका गल्तीहरु माफी माग्दै सुधारिएको भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम नभएको पनि भनेका छन्।कांग्रेसले १६५ निर्वाचन क्षेत्र र भातृ तथा सुभेच्छुक संघ संस्था र विदेशस्थित जनसम्पर्क समितिबाट गरी ४७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् ।
भदौ २४ गतेको जेनजी प्रदर्शनकारीको आक्रमणमा परेका पार्टी सभापति शेरबहादुर देउवा हाल उपचाररत छन् । उनले तत्काल पार्टीको बैठक बोलाउने वा महाधिवेशनबारे कुनै जवाफ दिने अवस्था छैन ।तर, देउवा निकट पार्टी प्रवक्ता डा. प्रकाशशरण महत भने ‘अभिभावकमाथि सांघातिक आक्रमण भएको बेला नेतृत्व परिवर्तन गर्न खोज्नु अश्वाभाविक भएको’ बताउँछन् ।
हिजो पत्रकार सम्मेलन गरी महतले सभापति स्वस्था हुँदासम्म पर्खन नेताहरूलाई आग्रह गरेका थिए । यो अवस्थामा खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कांग्रेसलाई रुपान्तरण गर्ने अभियानमा अब नरोकिने बताउँदै आएका छन् ।



























Discussion about this post