काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन प्रस्थान गरेका छन् । सांघाई सहयोग संगठन (एससीओ) को २५ औं शिखर सम्मेलन तथा ‘एससीओ प्लस’ बैठकमा सहभागी हुन आज शनिबार) बिहान प्रधानमन्त्रीसहितको टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो ।
प्रधानमन्त्रीसहितको टोली शनिबार बिहान ७ बजे हिमालयन एयरलाइन्समार्फत चीन प्रस्थान गरेको हो । प्रतिनिधि मण्डलमा प्रधानमन्त्री पत्नी राधिका शाक्य, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेपाली कांग्रेसका उपसभापति तथा सांसद पूर्णबहादुर खडका, नेकपा एमालेका सचिव तथा सांसद छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका अधिकारीहरू रहेका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई मन्त्रिपरिषद्को शुक्रबारको बैठकले स्वीकृत गरेको छ । मन्त्रिपरिषदमा प्रधानमन्त्री ओलीले चीन भ्रमणमा उठाउने एजेण्डाका विषयमा मन्त्रीहरूसँग छलफल गरेका थिए ।
सांघाई सहयोग संगठन, सन् २००१ मा स्थापना गरिएको विश्वकै सबैभन्दा ठूलो क्षेत्रीय संगठनहरूमध्ये एक हो । चीन, रुस, भारत, पाकिस्तान, काजाकिस्तान, किर्गिस्तान, ताजिकिस्तान, उज्वेकिस्तान, इरान, र बेलारुस यसका पूर्ण सदस्य राष्ट्र हुन् ।
नेपालसहित टर्की, श्रीलंका, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, मालदिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स सांघाई सहयोग संगठनका संवाद साझेदारहरू (डायलग पार्टनर) हुन् । नेपाल सन् २०१६ देखि यस संगठनको संवाद साझेदार रहँदै आएको छ ।
यस्तो छ कार्यतालिका ?
प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति सी चिनफिङसँग द्विपक्षीय भेट हुने संसदलाई जानकारी गराएका छन् । यस्तै बेइजिङमा चीनका उपराष्ट्रपति हान चङसँग पनि भेट हुनेछ । ‘चीनका महामहिम राष्ट्रपति र उपराष्ट्रपतिले दिनु हुने छुट्टाछुट्टै रात्रिभोजमा समेत हामी सहभागी हुनेछौं,’ ओलीले भने ।
प्रधानमन्त्री ओलीले २०८२ भदौ १६ (सेप्टेम्बर १) तियानजिनमा हुने एससीओ प्लस शिखर सम्मेलनमा पनि सहभागिता हुने र आफूले त्यस सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि प्रस्ट्याए ।
उनले एससीओ शिखर सम्मेलनका दौरान विभिन्न मित्र राष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको पनि जानकारी दिए । प्रधानमन्त्री ओलीको सोही दिन बेइजिङ जाने कार्यक्रम भएको पनि संसद्मा जानकारी दिए । प्रधानमन्त्री ओलीले हालसम्म तय भएका साइडलाइन बैठकका विषयमा जानकारी गराउँदै भने,‘अरू देशका साथीहरूसँग पनि भेट्ने विषयमा कुराकानी भइरहेको छ ।
अहिलेसम्म रुसी महासंघका महामहिम राष्ट्रपति भ्लादिमिर पुटिन, गणतन्त्र माल्दिभ्सका महामहिम राष्ट्रपति डा.मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका महामहिम प्रधानमन्त्री डा.सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका महामहिम प्रधानमन्त्री श्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका महामहिम प्रधानमन्त्री श्री फाम मिन चिङसँग भेट्ने कुरा टुंगो लागेको छ ।’
अन्तिम दिनको कार्यक्रमका रूपमा विश्वका नेताहरूसँगै भदौ १८ गते चीन सरकारद्वारा बेइजिङमा आयोजना हुने फाँसीवादविरुद्धको विश्वयुद्ध र जापानी अतिक्रमणविरुद्धको चिनियाँ जनताको प्रतिरोधी युद्धमाथिको विजयको ८० औं वार्षिकोत्सव समारोहमा सहभागी हुने कार्यक्रम रहेको ओलीले जानकारी दिए । उक्त कार्यक्रममा ५० भन्दा बढी देशले सहभागिता जनाउने तय भएको ओलीले बताए ।



























Discussion about this post