इटहरी डेस्क । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले केन्द्रीय समिति बैठकमा आएर आफूमाथि लागेका आरोपबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन् ।
कास्कीको लिचीबारी जग्गा हत्याउन खोज्ने बिचौलिया समूहसँग जोडिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग धाइरहेकी पत्नी रञ्जितालाई रेशमले बैठकमा सहभागी भएर जवाफ दिन भनेका हुन् । एक भिडियो सन्देश जारी गर्दै रेशमले पत्नी रञ्जितालाई भनेका छन्, ‘तपाईं भाग्न पाउनु हुँदैन, तपाईंमाथि लागेको आरोपबारे बैठकमा स्पष्ट जवाफ दिनुपर्छ ।’
उनले पार्टीको केन्द्रीय समिति बैठकमा आएर जवाफ दिन रञ्जितालाई चुनौती दिएका हुन् । उनले भने, ‘उहाँले अरूको बारेमा लेख्नु हुन्न, पार्टीभित्र विभाजन मात्रै ल्याउन खोज्नु हुन्छ । यो बैठक विधानतः बोलाइएको हो । त्यो बैठकमा मलाई विशेष आमन्त्रण गरिएको छ । नाउपाको बैठक वैधानिक वा अवैधानिक भनेर व्याख्या गर्ने को ? परिचालित व्यक्ति होइन र ?’ उनले पार्टीलाई अगाडि बढाउन छलफल गर्न आवश्यक भएको भन्दै बैठकमा आउन आग्रह गरेका छन् । श्रेष्ठले अहिले बोलाइएको बैठक वैधानिक होइन भनेर पन्छिन नपाउने चौधरीको भनाइ छ ।
उनले थपे, ‘अहिले उत्पन्न परिस्थिति हाम्रा कारण होइन । तपाईका कारण सिर्जना भएको हो । तपाईका कारण समस्या सिर्जना भए पनि हामीले तपाईसँग सम्पर्क राख्ने प्रयास गरेकै छौँ । तपाई केन्द्रीय समितिको बैठकमा आउनु पर्छ । स्पष्ट जवाफ दिनुपर्छ । जनता अन्योलमा छन्, हाम्रो पार्टीको अध्यक्षलाई मुद्दा लाग्यो खै त जवाफ दिनु भएको हो ? एउटा मुखले मात्रै बोलेर हुँदैन । केन्द्रीय समितिमा आएर तपाईँले आफ्नो भावना राख्नुभयो भने भोलि लाख मुखले तपाईको पक्ष वा विपक्षमा कुराकानी गर्ला ।’ उनले पार्टीलाई बन्धक वा निरंकश बनाउन नपाइने भन्दै निकास दिन आग्रह गरेका छन् ।



























Discussion about this post