इटहरी । गृह मन्त्रालयमा दर्ज्यानी चिह्न लगाएपछिको पहिलो सम्बोधनमा प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले विशेष जोड दिएरर उठाएको बिषय थियो, ‘प्रहरीको रासन वृद्धि ।’ आईजीपी कार्कीले फुली लगाएर गरेको पहिलो सम्बोधनमा भनेका थिए, ‘नेपाल प्रहरीले प्राप्त गर्ने रासन र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा असमान रहेको तथा कार्य प्रकृतिको आधारमा दैनिक कार्य सम्पादन गर्नको लागि आवश्यक आधारभूत पोषण सन्दर्भमा समेत असंगत र अपर्याप्त भएको कुरा आजका दिनमा सबैले बुझिसकेका छन् ।’
आईजीपी कार्कीले यस बिषयलाई भाषणमा मात्रै होइन निरन्तर फलोअप गरीरहे । यता आफ्नै जिल्लावासी र कुनै बेलाको सहकर्मी साथी ओमप्रकाश अर्याल गृहमन्त्री, प्रधानमन्त्री सुशिला कार्की । नेपाली सेना र सशस्त्र प्रहरीले रासनमा १९ आइटमका सामान पाइरहेका थिए । तर सबैभन्दा बढी सक्रिय रहनु पर्ने प्रहरीमा अपर्याप्त र असमान राशन प्रणाली कायम थियो ।
आईजीपी कार्कीले दशकौंदेखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समय सापेक्ष तथा विवेकसम्मत रूपमा सम्बोधन गर्नुपर्ने सकल दर्जाको माग सम्बोधनका लागि मिसन नै बनाएर लागे । प्रधानमन्त्री, गृहमन्त्री, सचिव र अर्थ मन्त्रालयमा निरन्तर धाइरहे । आईजीपी कार्कीको निरन्तरको ‘कोअर्डिनेशन’ पछि सरकारले नेपाल प्रहरीको रासन स्केल र रासनवापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रहरीको रासन स्केल र रासनबाफतको रकम बढाउने निर्णय गरेको गृहमन्त्री एवं सरकारका प्रवक्ता अर्यालले जानकारी दिए । मन्त्रिपरिषद्को बैठकपछि निर्णय सुनाउँदै अर्यालले भने, ‘मिति २०८२/११/१ देखि लागू हुने गरी नेपाल प्रहरीको रासन स्केल र रासनबापतको दैनिक रकम वृद्धि गर्ने निर्णय गरियो।’
यसअघि, २०७८ सालमा १५ प्रतिशतले प्रहरी रासन वृद्धि भएको थियो । प्रहरी नेतृत्वले ल्याएको प्रस्ताव गृहमन्त्री अर्यालले अर्थमन्त्रालयसमक्ष सहमतिका लागि पेस गरी अर्थको स्वीकृतिपछि बिहीबारको मन्त्रिपरिषद्बाट निर्णय भएको सरकारका प्रवक्तासमेत रहेका गृहमन्त्री अर्यालले बताए ।
आईजीपी कार्कीले सरकारले प्रहरीको रासन रकम बढाउने गरेको निर्णयले प्रहरी कर्मचारीको मनोबल बढेको प्रतिक्रिया दिएका छन् । भनेका छन्, ‘नेपाल प्रहरीको लामो समयदेखि उठ्दै आएको जायज तथा अपेक्षित मागलाई सम्बोधन गर्दै राशन रकम वृद्धि गर्ने निर्णय गरिएको छ। यस निर्णयसँगै नेपाल प्रहरीको राशन वृद्धि हुनु न्याय, समानता तथा प्रहरीको मनोबल सुदृढीकरणका दृष्टिले एक महत्वपूर्ण उपलब्धि हो।यसका लागि नेपाल सरकार,तालुक गृह मन्त्रालय, अर्थ मन्त्रालय तथा निर्णय प्रक्रियामा संलग्न सम्पूर्ण सरोकारवाला निकायप्रति हार्दिक आभार व्यक्त गर्दछौँ।’
आईजीपी कार्कीले दशकौंदेखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समय सापेक्ष तथा विवेकसम्मत रूपमा सम्बोधन गर्नुपर्ने सकल दर्जाको मागलाई आफूले उच्च प्राथमिकताका प्रधानमन्त्री, गृहमन्त्री, सचिव र अर्थ मन्त्रालयमा बलियो हिसाबले निरन्तर राखेको पनि बताएका छन् ।
आईजीपी कार्कीले भनेका छन्,दशकौंदेखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समय सापेक्ष तथा विवेकसम्मत रूपमा सम्बोधन गर्नुपर्ने सकल दर्जाको मागलाई मैले नेतृत्व सम्हालेको दिनदेखिनै उच्च प्राथमिकताका साथ सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृहमन्त्रीज्यू र सचिवज्यू एवम अर्थ मन्त्रालय समक्ष बलियो रूपमा प्रस्तुत गरेको थिएँ । दैनिक आहार र पोषणको औसत आवश्यकताको सन्दर्भमा र अन्य सुरक्षा निकायहरूको सन्दर्भमा समेत न्यून र विभेदपूर्ण रहेको नेपाल प्रहरीको राशन स्केलमा गरिएको यस सुधारलाई समग्र नेपाल प्रहरीबाट र आम जनसमुदायबाट समेत अत्यन्त सकारात्मक रूपमा ग्रहण गरिएको छ ।’
यो सँगै प्रहरी मनोबल र अनुशासन, प्रहरी कर्मचारीहरूको पोषण र स्वास्थ्यमा सुधार, संगठनिक छविमा समेत प्रभाव पर्ने आईजीपी कार्कीको भनाइ छ । सरकारको उक्त निर्णयले वर्षौंदेखिको अपर्याप्त र असमान राशन प्रणालीलाई समय सापेक्ष तथा विवेकसम्मत रूपमा सम्बोधन भएको पनि आईजीपी कार्कीले बताए । कार्कीले भनेका छन्,‘दैनिक आहार र पोषणको औसत आवश्यकताको सन्दर्भमा मेरो भरपुर प्रयासले रासनको सन्दर्भमा देखिएको विवाद अन्य भएको छ । यसले संगठनका सकलदर्जा सबैको मनोबल बढेको छ ।’
रासन १० प्रतिशत वृद्धि, अरु के थपिए ?
नेपाल प्रहरीमा रासनबापतको रकम प्रहरी कर्मचारीलाई नै उपलब्ध गराउने चलन छ । ब्यारेकमा खाना नखाने प्रहरी कर्मचारीले त्यसबापत रकम पाउने गर्छन् । प्रहरीले दैनिक पाउने रासनको क्यालरी बढाएको हो। यसअघि दैनिक ४ हजार ३०.५ क्यालरी बराबरको रासन पाउने गरेका थिए भने अब यसलाई बढाएर प्रतिदिन ४ हजार ३६४ क्यालरी बराबरको रासन पाउनेछन्।
यसरी पाउने रासनवापतको रकम पनि बढाइएको छ। रासनवापतको रकम जिल्ला अनुसार फरकफरक हुने गरेको छ। तराईका जिल्लाभन्दा हिमाली जिल्लामा बढी हुने गरेको छ। ढुवानी तथा स्थानीय मूल्यका आधारमा हुम्ला उत्तरी भेगमा कार्यरत प्रहरी कर्मचारीले सबैभन्दा बढी रासन भत्ता पाउने गर्छन् । त्यहाँ कार्यरत प्रहरी कर्मचारीले दैनिक ८ सय ६५ रुपैयाँ ६५ पैसा रासन भत्ता पाउने गरेकोमा नयाँ निर्णयपछि ९ सय ५२ रुपैयाँ ३६ पैसा पाउने भएका छन् ।
प्रहरीले सबैभन्दा कम झापामा रासनवापत दैनिक १८० रुपैयाँ ५५ पैसा पाउँदै आएका थिए। अब दैनिक १९९ रुपैयाँ १० पैसा पाउनेछन्। त्यस्तै, सबभन्दा बढी रकम हुम्लामा रहेको छ। हुम्लाको माथिल्लो भेगमा खटिने प्रहरीले दैनिक रासनवापत ८६३ रुपैयाँ ६५ पैसा पाउने गरेका थिए। अब ९५२ रुपैयाँ ३६ पैसा पाउने भएका छन्।
काठमाडौंमा अहिले एक प्रहरीले दैनिक रासन बापत २०१ रुपैयाँ २५ पैसा बुझ्दै आएका छन् । अब १ फागुनबाट यो रकम बढेर दैनिक २ सय २१ रुपैयाँ ९२ पैसा पुगेकाे छ ।
नेपाल प्रहरीले पनि नेपाली सेना र सशस्त्र प्रहरीजस्तै रासनमा १९ आइटमका सामान पाउने भएको छ । रासनबापत हुने सामानको स्थानीय मूल्य र ढुवानीसहितको मूल्यांकनका आधारमा जिल्ला दररेटअनुसार फरकफरक रकम नेपाल प्रहरीले खातामा पाउने व्यवस्था गरिएको छ । प्रहरी रासनमा अब २५ ग्राम मासु, हाई इनर्जी बिस्कुट र दैनिक एउटा अण्डा थपिएको छ ।
यसअघि २०७८ सालमा प्रहरीको रासन वृद्धि भएको थियो । २०७२ सालको रासनमा २०७८ सालमा १५ प्रतिशत भएको थियो । अहिले त्यही २०७८ को रासनमा चार वर्षपछि १० प्रतिशत वृद्धि भएको हो ।

























Discussion about this post