इटहरी । गृह मन्त्रालयले देशभरका ७७ जिल्ला प्रशासन कार्यालयहरूलाई इजाजतप्राप्त हातहतियार र गोलीगठ्ठाको एकीकृत विवरण पेश गर्न परिपत्र गरेको छ ।२३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवन जलेर ध्वस्त भएपछि गृहले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै इजाजतप्राप्त हातहतियार तथा गोलीगठ्ठाको लगत संकलन गरी पेश गर्न निर्देशन दिएको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, केन्द्रीय कमाण्ड पोस्टको बैठकले हतियारको एकीकृत अभिलेख अद्यावधिक गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्ने निर्णय गरेको हो । साथै, इजाजतप्राप्त हतियार तथा गोलीगठ्ठा प्रशासनमा बुझाउन सर्वसाधारणलाई निर्देशन दिइएको छ।
सुरुवाती विवरण अनुसार पेस्तोल, रिभल्वर, भरुवा बन्दुक, १२ बोर, २२ बोर बन्दुक, एयर गनलगायत दर्जनौँ किसिमका हतियार संकलनमा छन् । कतिपय हतियारको नवीकरण नभएको वा इजाजत रद्द भइसकेको अवस्थामा समेत विवरण अद्यावधिक नगर्दा जोखिम बढ्ने देखिएको छ।
मन्त्रालयले विशेष गरी १२ बोर, २२ बोर र भरुवा बन्दुकको विवरण संकलनमा जोड दिएको छ । रिभल्वर, पेस्तोल लगायत हतियारको नियमन र अनुगमन पर्याप्त नभएकाले दुरुपयोगको जोखिम उच्च छ। सार्वजनिक स्थलमा इजाजतप्राप्त हतियार लिएर हिँड्न निषेध गरिएको छ। गृह मन्त्रालयका एक अधिकारीका अनुसार विगतमा स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका हतियारको संख्या करिब ३५ हजार हाराहारीमा छ ।

























Discussion about this post