इटहरी । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँका मेयर बालेन शाहले चुनावी अभियान तीव्र बनाएका छन् । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा उम्मेदवार बन्नका लागि उनी चुनावी सचिवालय व्यवस्थापनमा सक्रिय बनेका हुन् ।
झापामा बालेनको निर्वाचन परिचालन व्यवस्थित गर्न तीन फरक स्थानमा चुनावी सचिवालय स्थापना गरिएको छ । मुख्य सचिवालय दमकस्थित लक्की सिटौलाको घरमा राखिएको छ । अन्य दुई सचिवालय इलाका प्रहरी कार्यालय नजिक र क्याम्पस मोड क्षेत्रमा सञ्चालन हुनेछन् । रास्वपा झापाका सभापति प्रकाश पाठकका अनुसार प्रत्येक सचिवालयले फरक–फरक कार्यभार सम्हाल्नेछ।
सचिवालय सञ्चालन भेषराज भट्टराईको नेतृत्वमा हुनेछ । आर्थिक, युवा परिचालन र अन्य उपसमितिहरू गठन भइसकेका छन् । जिल्ला स्तरमा ‘र्यापिड एक्सन टिम’ (र्याट) बनाइएको छ । प्रत्येक निर्वाचन क्षेत्रमा एक कमान्डर तोकिने व्यवस्था गरिएको छ ।
दमकमा बालेनका लागि बनाइएको ‘थ्री-लेयर’ सचिवालय तीन तहमा विभाजित गरिएको छ। पहिलो तहमा राजनीतिक र डिजिटल टिमको गृहस्थल समेटिएको छ, जहाँ फेसबुक, युट्युब र टिकटकजस्ता सामाजिक सञ्जालका लागि १५ जनाको विशेष टोली काम गर्नेछ। काठमाडौँबाट आउने ब्याकअप टिम पनि यहीँ बस्ने तयारी गरिएको छ ।
दोस्रो तहमा बालेन स्वयं बस्ने घर रहेको छ। यहाँबाट उनी राजनीतिक भेटघाट गर्ने, छिटो निर्णय लिने र आवश्यक रणनीतिक परिवर्तन गर्ने तयारी गर्दैछन्। यस घरमा सामाजिक सञ्जाल टिम र निर्वाचन कमान्डसँग निकट रहेर अभियानको मुख्य सञ्चालन हुनेछ। तेस्रो तहको सचिवालयमा बालेनका निकट नेता र स्थानीय नेताहरू बस्नेछन् । मतदाताको सर्वेक्षण र क्लस्टरअनुसार तयार पारिएका रणनीति तथा विभिन्न कार्यहरू यहीँबाट कार्यान्वयन गरिने योजना रहेको छ ।

























Discussion about this post