काठमाडौं : विभिन्न प्रलोभनमा म्यानमार पुगेका १४ जना नेपालीको उद्धार गरिएको छ । बैंकक (थाइल्यान्ड) स्थित नेपाली दूतावासले सम्बन्धित निकायहरूको सहयोगमा उद्धार उनीहरूको गरिएको जनाएको छ ।उनीहरूलाई म्यानमारको म्यावडीबाट उद्धार गरी थाइल्यान्डको टाक प्रान्तको अध्यागमन कार्यालय मेसोट हुँदै आज नेपाल पठाइएको छ ।
दूतावासका अनुसार म्यानमारमा रहेका थप ११ जना नेपालीको यथाशीघ्र उद्धारका लागि पहल भइरहेको छ ।म्यानमारको म्यावडीमा रहेका विभिन्न अनलाइन ठगी केन्द्रहरूबाट १९ अक्टोबर २०२५ पश्चात् ३८ जना नेपालीहरू समेत गरी विभिन्न २० देशका दुई हजारभन्दा धेरै विदेशी थाइल्याण्ड प्रवेश गरेका थिए ।दूतावासले श्रम स्वीकृति लिएर मात्रै वैदेशिक रोजगारीमा तथा कसैको प्रलोभनमा नपर्न आग्रह समेत गरेको छ ।
‘नेपाल सरकारले तोकेको मापदण्ड बमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभले कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकहरूमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउनका लागि राजदूतावास सम्बन्धित सबैमा अनुरोध गर्दछ,’ विज्ञप्तिमा छ ।


























Discussion about this post