नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेकाहरूलाई ‘घर फर्किन’ आह्वान गरेपछि पूर्वउपाध्यक्ष भीम रावलले सबभन्दा पहिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता कायम गर्न आग्रह गरेका छन्।एमालेबाट फुटेर गएको एकीकृत समाजवादीमा माओवादीसँग मिल्ने विषयले फुट भएपछि ओलीले विगतमा एमालेबाट अलग्गिएकाहरूलाई पार्टीमा फर्किन शुक्रबार अपिल गरेका थिए ।
ओलीको आह्वानलाई ‘ढोक्सो थाप्ने चाल’ भन्दै रावलले भण्डारीको बाटो खुला गर्न ओलीलाई चुनौती दिएका हुन् ।‘एकीकृत समाजवादीले माओवादी केन्द्रसँग एकता गर्ने निर्णय गरेपछि हत्तपत्त एमाले अध्यक्ष केपी ओलीले एमाले छोडेर जहाँसुकै गएका भए पनि फर्किन सामाजिक सञ्जालमा आग्रह गरेको देखियो। साँच्चिकै अहिलेको विषम स्थितिमा जबजअनुसार एमालेलाई देशभक्तिपूर्ण बाटोबाट बलियो बनाउने उद्देश्य भएको भए सबभन्दा पहिले एक वर्षअगाडि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको नवीकृत सदस्यतामा लगाइएको रोक हटेको कुरा गरिनुपर्थ्यो’, रावलले सामाजिक सञ्जालमार्फत नै भनेका छन्, ‘विगतमा भएका गल्ती, कमीहरूका साथै भदौ २३ र २४ गते को अकल्पनीय घटनामा राष्ट्रले बेहोरेको क्षतिको नैतिक जिम्मेवारी लिनुपर्थ्यो। त्यो केही नगरी शब्दजाल र भ्रम फिँजाएर माओवादीमा जान नचाहने एकीकृत समाजवादीका मानिसहरूलाई ढोक्सो थाप्ने चालबाहेक ओलीको भनाइमा कुनै सार्थकता छैन।’
योगेशका चार प्रस्ताव
ओलीको आह्वानलाई स्वागतयोग्य भन्दै एमाले सचिव योगेश भट्टराईले निषेध, प्रतिशोध र घृणा त्यागेर एमालेमा एकताबद्ध हुन अनुरोध गरेका छन्।भट्टराईले अध्यक्ष ओलीले पूर्वएमालेजनलाई ‘घर फर्किन’ गरेको आह्वानको समर्थन गर्दै पुनः एकताका लागि चार आधार प्रस्तुत गरेका छन्।
भट्टराईले भनेका छन्, ‘जबजको सिद्धान्त ‘शान्तिपूर्ण, वैधानिक र प्रतिस्पर्धाको माध्यमबाट नेपाली समाजको प्रगतिशील रूपान्तरणमा’ विश्वास गर्नेहरूको एउटा केन्द्र बन्नैपर्छ, त्यो एमाले हो। निषेध, प्रतिशोध र घृणालाई त्यागेर सहकार्य र सहअस्तित्वमार्फत नेकपा एमालेलाई सुदृढ र एकताबद्ध बनाउन सकिन्छ।’
यसका लागि उनले चार आधार प्रस्तुत गरेका छन्। ती यसप्रकार छन्ः
-जनताको बहुदलीय जनवादलाई सिद्धान्तका रूपमा स्वीकार गर्ने।-पुष्पलाल, मदन भण्डारी र मनमोहन अधिकारीको योगदान र निरन्तरतालाई स्वीकार गर्ने।-२०८२ भाद्र २३ र २४ पछि उत्पन्न परिस्थितिको गम्भीर र वस्तुनिष्ठ समीक्षा गर्ने र पार्टीको बहुआयामिक पुनर्गठन गरी आगामी प्रतिस्पर्धामा नेकपा एमालेलाई विजयी बनाउने।
-नेकपा एमालेको नेतृत्वमा आर्थिकरसामाजिक रूपान्तरण गरी सामाजिक न्यायमा आधारित समतामूलक समाज निर्माण गर्ने।स्मरणीय छ, एमालेमा भएको विभाजनताका रावल र भट्टराई दुवैजनाले माधव नेपालको साथमा थिए । तर, माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी गठन भएपछि दुवैजना एमालेमै रहेका थिए । हाल भीम रावललाई एमालेले कारबाही गरेपछि उनी बेग्लै संगठन निर्माणमा जुटेका छन् ।


























Discussion about this post