इटहरी डेस्क । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्ने भएकी छन् ।प्रधानमन्त्री कार्कीले आइतबार दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा मुख्यमन्त्रीहरूलाई बोलाएर निर्वाचन तयारी तथा राजनीतिक अवस्थाबारे परामर्श गर्ने कार्यक्रम तय गरेकी हुन् ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँका अनुसार अन्तरिम सरकार गठनपछि प्रधानमन्त्रीसँग हुने यो पहिलो औपचारिक भेट हो । उनका अनुसार प्रधानमन्त्रीले सातै प्रदेशका मुख्यमन्त्रीलाई निर्वाचन र देशको समसामयिक राजनीतिक अवस्थाबारे छलफल गर्न बोलाएकी हुन् ।मुख्यमन्त्री बानियाँले वर्तमान सरकारको मुख्य जिम्मेवारी निर्वाचन सम्पन्न गराउने भएकाले बैठकमा प्रदेशले निर्माण गर्ने कानुन, संघले प्रत्यायोजन गर्ने अधिकारलगायत विषयमा भने छलफल हुने सम्भावना नरहेको उनले बताए ।
प्रदेशका मुख्यमन्त्रीहरूले हरेक वर्ष अन्तर प्रदेश मुख्यमन्त्री भेला गरी संयुक्त घोषणापत्र जारी गर्दै प्रधानमन्त्रीलाई भेटेर संघीयताको पूर्णरुपमा कार्यान्वयन गर्न आवश्यक अधिकार माग गर्नै गरेका थिए । तर, यस वर्ष जेनजी आन्दोलनका कारण यस बैठक बस्न सकेको छैन ।




























Discussion about this post