इटहरी डेस्क । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले पुस्तान्तरणसहितको वाम एकताको प्रस्ताव गरेकी छन् ।नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकताको तयारी भइरहेका बेला झाँक्रीले नेतृत्व हस्तान्तरण हुनुपर्नेमा जोड दिएकी हुन् ।
माओवादी, एकीकृत समाजवादी र महीन्द्र यादव समूहबीच हुन लागेको एकतापछि पुष्पकमल दाहाल प्रचण्ड संयोजक र माधव नेपाल सहसंयोजक बन्ने सहमति सार्वजनिक भएको छ ।उक्त सहमतिप्रति झाँक्रीले असहमति प्रकट गरेही हुन् ।उनले बुधबार पार्टीमा आवद्ध ५२६ युवाले संयुक्त रूपमा जारी गरेको वक्तव्यलाई फेसबुकमा पोस्ट गर्दै ‘नेतृत्व पुस्तान्तरण र हस्तान्तरण’ को मागमा ऐक्यवद्धता जनाएकी छन् ।
‘विचार र राजनीतिमा संगठित नभएकै कारण त्यो (जेनजी) विद्रोह अरूले हाइज्याक गरे । तपाईंहरूको प्रयास ठीक छ’, झाँक्रीले लेखेकी छन्, ‘मिल्नेहरू जोडिदै जान्छन, नमिल्नेहरू छोडिदै जान्छन, यो अभियान हो । आत्तिनु पर्दैन । अगाडि बढ्नुस् मेरो सधैँ साथ र धेरै शुभकामना छ ।’
जेनजी पुस्तालाई राजनीति र विचारले परिपक्व बनाएर देशको नेतृत्व गर्न सक्ने बनाउनुपर्ने उनको भनाइ छ । राजनीतिक दलका युवा विद्यार्थी संगठनहरू समाजमा प्रभावहिन भएकै कारण जेनजी पुस्ताले ‘स्पेश’ लिएर संघर्ष सुरू गरेको झाँक्रीले फेसबुकमा लेखेकी छन् ।
जेनजी आन्दोलन र आन्दोलन पछिका घटनाक्रमले देखाएजस्तै लाखौँ वाम विचारमा विस्वास गर्ने मतदातालाई आफ्नै कम्युनिस्ट पार्टीमा संगठित गर्न सकिने एकीकृत समाजवादीमा आवद्ध युवाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



























Discussion about this post