इटहरी । मन्त्री बनाउने सूचीमा परेर पनि आइतबार शपथ रोकिएका गणपतिलाल श्रेष्ठले आफूविरुद्ध ठूलै शक्ति लागेको दाबी गरेका छन् ।गणपतिलालले विज्ञप्ति प्रकाशित गरी गृहमन्त्री ओमप्रकाश अर्यालले यस्तो जानकारी दिएको बताएका छन् ।‘गृहमन्त्रीज्यूले आफूलाई फोन गरेको र उहाँले तपाईंविरुद्ध ठूलै शक्ति लागेको र प्रधानमन्त्रीज्यूलाई भेट्न सुझाव दिएको’ उनले उल्लेख गरेका छन् ।प्रधानमन्त्री सुशीला कार्कीसँग भएको सहमतिविपरीत मन्त्रालय परिवर्तन गरिएका कारण आफू पछि हटेको उनको दाबी छ ।
सुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने भनिएका श्रेष्ठलाई आइतबार राष्ट्रपतिको कार्यालयमा सूची पठाउने बेला भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिने गरी पठाइएको थियो। मन्त्रालय परिवर्तन गरिएपछि अस्वीकार गरेको उनले दाबी गरेका छन्।आफू मन्त्री बन्न खासै लालायित नरहेको तर प्रधानमन्त्री कार्कीले नै प्रस्ताव गरेपछि आफ्नो विज्ञताका आधारमा पर्यटनमन्त्री बन्ने सहमति भएकामा पछि एकाएक परिवर्तन गरिएको उनले उल्लेख गरेका छन्।
मन्त्रालय परिवर्तन गरिएपछि गृहमन्त्री ओमप्रकाश अर्यालले आफूलाई फोन गरी ‘तपाईंविरुद्ध ठूलै शक्ति लागेको’ भनेको दाबी श्रेष्ठले गरेका छन्। उनकै सुझावअनुसार आइतबार आफूले प्रधानमन्त्री कार्कीलाई भेटेर किन मन्त्रालय परिवर्तन गरिएको भनेर सोध्दा प्रस्ट कारण नबताएको श्रेष्ठको भनाइ छ।
यस्तो छ गणपतिलाल श्रेष्ठको पूरा विज्ञप्ति-
प्रेस विज्ञप्ति
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रलाय परिवर्तन गरी भूमिसुधार मन्त्रालयको जिम्मेवारी अस्वीकार गरेको सम्बन्धमा।
नैतिकता र स्वाभिमान नै अभियानकर्ताको सबैभन्दा ठूलो शक्ति हो। करिब २४ वर्षदेखि त्यही नैतिकताको शक्ति लिई देशको सम्पदा, संस्कृति र सभ्यता संरक्षण र संवर्धन गर्नको लागि सङ्घर्ष गर्दै आइरहेको छु। म आफैँले मलाई मन्त्री बनाऊ भनेर हारगुहार गरेको होइन तर जब प्रस्ताव आयो, देशको अहिलेको अवस्था र खस्किन सक्ने हाम्रो पर्यटन व्यवसायको अवस्था काठमाडौँको पर्यटनको जन्मस्थल झोछेंमा जन्मेको र त्यहीँ हुर्केको कारण बुझेकोले तथा सम्पदा र संस्कृति संरक्षणमा यो तरल अवस्थामा हुन सक्ने अपूरणीय क्षतिलाई रोक्नको निमित्त आफू अभियानकर्ताको रूपमा रहँदा सिकेको, सिकाएको ज्ञान र सिप साथै आफूसँग सहकार्य गर्ने गरेको विज्ञ, स्थानीय समुदाय साथै अभियानकर्ताहरूसहित सल्लाह गर्दा यो समयमा देशको सर्वोत्तम हितको लागि र अभियानकर्ताहरूले गर्दै आएको कार्यलाई संस्थागत गर्न र हामीले देखेको भोगेको विसंगतिलाई हटाउन र लागु हुन नसकेका कानुनलाई लागु गराउन, फैसलाहरू कार्यान्वयन गराउन तथा मौलिक हकहरूको प्रभावकारी सनिश्चितता गर्ने यो अवसर हो भन्ने भएपछि मैले सम्माननीय प्रधानमन्त्रीज्यूले बोलाएपछि करिब एक महिनाअगाडि गएर भेटेको हो।
सो समयमा नै हामीले एउटा मार्ग चित्र तयार गरेको थियौँ। हामीलाई पुराना नेताझैँ मन्त्री बनेर जीवनभर पूर्व माननीय मन्त्री भनी लेख्नको लागि मन्त्री बन्नु नै थिएन र छैन पनि। तर यो परिस्थितिको कारण संस्कृति, सम्पदा र सभ्यतामा हुन सक्ने क्षयीकरण र विश्वास गुमाउँदै गएको हाम्रो पर्यटन क्षेत्र तथा वायुसेवामा नीतिगत सुधार र बनेर पनि सञ्चालन हुन नसकेका विमानस्थलाई चलायमान गर्नु तथा कागजमा सीमित भएका उच्चस्तरीय समितिले दिएको सुझावलाई व्यवहारमा उतार्नु नै थियो। मेरो सिप, ज्ञान र अनुभव तथा मैले सल्लाह गरी बनाएको मार्ग निर्देशन (निर्णयहरू) यसै साथ राखेको छु।
मलाई मिति २०८२-०७-०८ गते (ने.सं १९४६ कछलाथ्व चतुर्थी) सम्माननीय प्रधानमन्त्रीज्यूको निवास बालुवाटारमा बोलाएपछि गृहमन्त्री तथा ऊर्जामन्त्री समेतको उपस्थितिमा मैले आफ्नो अनुभव तथा योजना बताएको र उहाँले मसँग संवाद गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मा दिन तपाईं सक्षम व्यक्ति रहेकोले भोलि शपथको तयारी गर्नुस् भनेको र म आज विभिन्न विज्ञहरू तथा जात्रा पर्वमा संलग्न तथा सरोकारवालाहरूसँग छलफल गरिरहेको अवस्थामा बिहान एकाएक सञ्चारमाध्यमबाट आफू भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रूपमा नियुक्त हुन लागेको जानकारी भएको थियो। केही समयपछि गृहमन्त्रीज्यूले आफूलाई फोन गरेको र उहाँले तपाईंविरुद्ध ठूलै शक्ति लागेको र प्रधानमन्त्रीज्यूलाई भेट्न सुझाव दिएको र सोपश्चात् प्रधानमन्त्री सचिवालयमा फोन गरेको र सोपछि सम्माननीयज्यूलाई भेटी आफूलाई जानकारी नै नदिई के आधारमा मन्त्रालय हेरफेर गर्नुभएको र आफू मन्त्री बन्नको लागि नआएको तर आफ्नो विज्ञताले योगदान दिन र यो संकटमा देशको लागि लामो समय सङ्घर्ष गरेको नागरिकको हिसाबले सेवा गर्न आएको हो भनी बताएको थिएँ। सोपछि उहाँले मैले अरूलाई वचन दिइसकेको जानकारी गराउनुभयो र मैले हिजो बेलुका मलाई दिनुभएको वचनचैँ के भनी प्रश्न गर्दा उहाँले कुनै जवाफ नदिई अर्कोतिर हेर्नुभयो।
प्रधानमन्त्रीज्यूले यो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गुठी, मठ मन्दिर यसै मन्त्रालयमा छ, तपाईंको क्षेत्राधिकारमा पर्छ भन्नुभएको थियो। तर मैले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गुठीलाई जग्गाको रूपमा हेरेको र आफूहरूले सधैँ गुठीलाई संस्कृति र सम्पदाको रूपमा हेरेको कारण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा गएर सोही गुठी सञ्चालन गर्ने नाममा सम्पत्तिको प्रयोग भनी देवश्वको दोहन गरी आफ्नो अभियान र समुदायको मर्मसमेत विपरीत हुने गरी नैतिकता नगुमाउने भनी जवाफ दिएको थिएँ। हाल बनेको सरकार विषय विज्ञताको आधारमा बन्नुपर्ने सर्वसाधारणको माग रहेको र मेरो धारणा पनि त्यही भएकोले म मन्त्री बन्नको लागि मन्त्री बन्न अनिच्छुक रहेको पुन: प्रस्ट पारेको थिएँ।
मेरो हरेक सङ्घर्षमा समुदाय र सञ्चारमाध्यमले साथ दिएको हो र मेरो सफलताको कारण समुदाय र सञ्चारमाध्यम नै हो। मैले संस्कृतिक, सम्पदा र सभ्यताको लागि अभियानकर्ताको हिसाबले कति गरे मैले आफैँले भन्ने विषय होइन, मेरो जीवन सार्वजनिक छ र मेरो सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमहरूको अभिलेख अध्ययन गरे सो कुरा प्रस्ट भई नै हाल्छ। हिजो अभियानहरू निजी हितको लागि गरिएको होइन भने आज मन्त्री बन्नसमेत आफ्नो निजी हितको लागि नगएको जानकारी गराउँदै आफ्नो नैतिकता र स्वाभिमान नै मेरो लागि मन्त्रीको पदभन्दा महत्त्वपूर्ण लागेको छ।
जुन मन्त्रालय दियो मन्त्री भइहाल्यो भनी बस्ने मेरो प्रवृत्ति होइन। म संस्कृति, सभ्यता, राष्ट्रिय पहिचानको संरक्षणको कार्यमा हिजो समेत अभियानकर्ताकोरुपमा कार्य गरी रहेको हो आज पनि गरिरहने छु र भोलिसमेत अझ सशक्त गरी निरन्तर सङ्घर्ष गरिरहने छु। मेरो शक्ति नैतिकता मेरो स्वाभिमान र मेरो समुदाय र मेरो सांस्कृतिक धरातल नै हो। यो विज्ञप्तिसमेत मैले आफ्नो आत्मरक्षा गर्न निकालेको नभई म र मलाई विश्वास गर्ने व्यक्तिहरूको आत्मसम्मानमा चोट नलागोस् भन्नको लागि लेखेको हो।
सो मन्त्रालय देशको राष्ट्रिय विविधता र अस्तित्वसँग जोडिएकोले कुनै त्यस्ता अदृश्य माफिया शक्तिले नागरिक सरकार दबाब र प्रभावमा नपरोस् र सहिद र घाइतेको त्याग र बलिदान विपरीतको कार्य नहोस् भनी सचेत गराउन चाहन्छु र सचेत हुन सबैमा अनुरोधसमेत गर्दछु। यहाँहरूको शुभेच्छा र सद्भावको लागि धन्यवाद र आभार।



























Discussion about this post