काठमाडाैं । सुदूरपश्चिम विश्वविद्यालयबाट कृषि विषय अध्ययनका लागि विपिन जोशीसँगै इजरायल गएका धनबहादुर चौधरीले विपिनकै कारण आफूहरू जोगिएको बताएका छन् ।विपिनको मृत्युको खबरले स्तब्ध बनेका धनबहादुर आफैं बमको छर्रा लागेर घाइते छन् । दुवै खुट्टामा गम्भीर चोट लागेका उनलाई बाहिर भित्र गर्न अहिले पनि सहारा चाहिन्छ ।
इजरायलमा ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सुदूरपश्चिम विश्वविद्यालयका १७ जना विद्यार्थीमध्ये हमासको आक्रमणमा परी १० जनाको त्यतिबेलै निधन भएको थियो । विपिनलाई हमासले आफ्नो कब्जामा लिएर गएको र अन्य ६जना घाइते भएका थिए ।विपिनको मृत्यु भएको पुष्टि भएसँगै उक्त घटनामा परी निधन हुने नेपाली विद्यार्थीको संख्या ११ पुगेको छ ।
कैलालीको भजनी नगरपालिका–४ का धनबहादुर अहिले त्रिभुवन विश्वविद्यालयमा एमएससी एजी अध्ययनरत छन् ।विपिनको मृत्युको खबर आएपछि विभिन्न सञ्चारमाध्यमका प्रतिनिधिसँग विपिनले त्यो दिनको त्रासदी सम्झँदै भनेका छन्–‘त्यो दिन बिहानीपख ६ बजेतिरको समय थियो । २०८० असोज २० गते (अक्टोबर ७, २०२३) शनिबारको दिन भएकाले बिदा थियो त्यो दिन । सुतिरहेकै थियौं । माथिमाथि मिसाइलहरू गइरहेका थिए । मिसाइल धेरै संख्यामा ओहोरदोहोर हुन थालेपछि हामी बसेको कोठाको नजिकै रहेको बंकरभित्र पस्यौं । सबैजना गरेर १७ जना नेपाली साथीहरू थियौं । विपिन पनि थिए ।
करिब एक घण्टापछि बंकरको ढोकानिरै हमासहरू आइपुगेछन् । गोली प्रहार हुन थाल्यो । हामीसँगै भएका दुई जना साथीहरू दार्चुलका दीपेशराज बिष्ट र गणेश नेपालीले ‘वी आर नेप्लिज’ भने तर सुनुवाइ नभएर ती साथीमाथि गोली दागियो । दुवै जना ढले । त्यसपछि हामीहरू आत्तियौं । बंकरको कुनामा लुक्ने प्रयास गर्दै थियौं । त्यही बेला हमासले दुई वटा ग्रिनेड हामी भएको बंकरमा फ्याँके । त्यही बेला एउटा ग्रिनेड विपिनले टिपेर बाहिर फ्याँक्यो । एउटा त्यहीँ पड्कियो । मसहित ५ जना सख्त घाइते भयौं । त्यसबेलासम्म विपिन घाइते भएका थिएनन् ।
त्यसपछि विपिनलगायत घाइते नभएका १० जनालाई प्रहरी आएर अर्को बंकरमा लिएर गए । हामी घाइतेहरूमध्ये म घिस्रेर कोठाभित्र खाटमुनि लुकेर बसें । त्यस बेलासम्म ९ बजेको थियो । प्रहरीले विपिन जोशीलगायत १० जनालाई लिएर गएपछि मेरो पनि कसैसँगै पनि सम्पर्क भएन ।’स्मरणीय छ, इजरायली प्रहरीले विपिन लगायतलाई लिएर गएपनि प्रहरीमाथि नै हमासले आक्रमण गर्दा प्रहरी आफैं छिन्नभिन्न भएको थियो । त्यसपछि हमासले आफ्नो कब्जामा राखेका विपिनको केहीदिन पछिको भिडिओ सन्देश हालै सार्वजनिक भएको थियो ।
इजरायल–हमास द्वन्द्वमा मारिएका १० नेपाली विद्यार्थीमध्ये सात जना सुदूरपश्चिमका थिए। मृतकमा कैलाली घोडाघोडीका नारायणप्रसाद न्यौपाने, कैलाली बौनियाका आशिष चौधरी, दार्चुला लेकमका दीपेशराज विष्ट, दार्चुला मालिकार्जुनका लोकेन्द्रसिंह धामी, बझाङ जयपृथ्वीका गणेशकुमार नेपाली, धनुषा सपाहीका आनन्द साह, सुनसरी मधुवनका राजेशकुमार स्वर्णकार, डोटी पचनालीका राजन फुलारा, डोटीकै लमिखालका पदम, र सल्यान सारदाका प्रवेश भण्डारी थिए।


























Discussion about this post