इटहरी । जेनजी प्रदर्शनपछि नख्खु कारागारबाट भागेका कैदीले ठमेलमा आफ्नै साथीको हत्या गरेको खुलेको छ ।फरार कैदी राप्ती गाउँपालिका-१ दाङका आकाश मगरले मकवानपुर घर भई बालाजु मनमैजु बस्दै आएका २५ वर्षीय सुरज तामाङलाई गत असोज १३ गते ठमेलको बुद्धबार गल्लीस्थित ह्याप्पी होटेल अगाडि खुकुरी हानेर घाइते बनाएका थिए ।
सुरजको वीर अस्पतालमा उपचारको क्रममा १४ गते दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ । घटनापछि आकाश फेरि भागेका छन् । उनी काठमाडौँबाट भागेर भारत पुगेको प्रहरीको आंशका छ ।लुटपाट तथा डकैती मुद्दामा जेल पुगेका आकाश लागु २०८० असोज २७ देखि नख्खु कारागारमा रहेको पाइएको छ ।
यसअघि जेलबाटै भागेका काभ्रे पनौती नगरपालिका-१२ का सन्तबहादुर तामाङले असोज ५ गते श्रीमती मनीषाको हत्या गरी शव खाल्डो खनेर पुरेका थिए ।साथै प्रहरीको आन्तरिक छानबिनका क्रममा करिब १२ हजार सानाठूला हतियार लुटिएको खुलेको थियो । त्यसमध्ये करिब तीन सय हतियार भने रिकभर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पछिल्लो समय कारागारबाट जघन्य अपराधमा दोषी ठहर भएका कैदीहरू बाहिर र प्रहरीकै हतियारसमेत लुटिँदा सुरक्षा जोखिम बढेको सुरक्षा अधिकारीहरू बताउँछन् । प्रहरीको लुटिएका हतियार आपराधिक समूहसँगै पुगे आन्तरिक सुरक्षा चुनौती हुने जनाएको छ । प्रहरीले बारम्बार सूचना जारी गर्दै लुटिएका हतियार फिर्ताको लागि सूचना जारी गर्दै आएको छ ।


























Discussion about this post