इटहरी डेस्क । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी पुस्ताले गरेको क्रान्तिलाई सबैले स्वीकार गर्नुपर्ने बताएकी छन् ।जेनजी आन्दोलन एक महिना पुगेको अवसरमा बिहीबार राति भिडिओ सन्देश जारी गर्दै उनले जेनजीको आवाज र भावना विगतका सरकारहरुले सुन्न नसकेको र त्यो कमजोरी विनम्रतासाथ स्वीकार्नुपर्ने बताइन् ।
सम्बोधनका क्रममा उनले सरकार युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध रहेको पनि स्पष्ट पारेकी छन्।‘युवा पुस्ताले गरेको क्रान्तिलाई हामी सबैले स्वीकार गर्नुपर्छ,’ प्रधानमन्त्री कार्कीको भनाइ छ, ‘एकातिर हाम्रा युवामा निराशा व्याप्त छ भने अर्कोतर्फ देशप्रति उत्कट प्रेम छ। उनीहरुको भावनालाई म सम्मान गर्न चाहन्छु। विगतका सरकारहरुले युवाहरुको आवाज सुन्न सकेन। उनीहरुको माग सम्बोधन गर्न सकेन। यसका लागि हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ।’
सम्बोधनमा उनले संयम राख्न र हिंसाको चक्र रोक्न पनि सबैसँग आग्रह गरेकी छन्।‘संयम राख्न र हिंसाको चक्र रोक्न आग्रह गर्न चाहन्छु। यो दुखद घटनालाई नयाँ नेपाल बनाउन हामीलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ’ उनले भनिन्, ‘मलाई आशा छ यो नयाँ सरकार र निर्वाचन पश्चात आउने दुवै सरकारले युवाहरूको सपना साकार पार्न समृद्ध नेपाल बनाउन ठोस कदम चाल्नेछन्।’
उनले युवाहरूको बलिदान पछाडि राजनीतिक र आर्थिक सुधार देख्ने तीब्र चाहना छ, देशमा न्याय र विधिको शासनको अपेक्षा छ। देशमा भ्रष्टाचार र बेथिती उन्मुलन भएको हेर्ने चाहना छ भन्दै यो सरकार र निर्वाचन पछिका सरकारले पनि त्यो चाहना पूरा गर्ने विश्वास गरिन्।उनले जेनजी पुस्तालाई राज्य सञ्चालनमा अर्थपूर्ण सहभागिता गराउन विभिन्न संयन्त्र निर्माण गर्ने प्रतिवद्धता पनि जनाइन्।




























Discussion about this post