इटहरी । पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध पोखराको लिची बगानको जग्गा घोटाला प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।तत्काली केपी शर्मा ओली नेतृत्वको सरकारमा सामान्य प्रशासन मन्त्री रहेका गुप्ता नेकपा एमालेका नेता हुन् भने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा भूमि व्यवस्थामन्त्री रहेकी श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन् ।
गत भदौ २३ र २४ गत भएको जेनजी आन्दोलनको मुख्य एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो । भ्रष्ट व्यक्तिहरूलाई सरकारले नै संरक्षण गर्ने गरेका कारण भदौ २४ गते जनआक्रोश विस्फोट भएको थियो ।जेनजी आन्दोलनपछि भ्रष्टाचार मुद्दा दायर हुने श्रेष्ठ र गुप्ता दुई उच्चस्तरीय व्यक्ति हुन् ।
उक्त प्रकरणमा श्रेष्ठ र गुप्तासहित ७ जनाविरुद्ध बुधबार भ्रष्टाचार मुद्दा दायर भएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको यस मुद्दामा ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।गुप्ताले बिचौलियाहरूसँग घुस डिल गरेको श्रव्य सामग्री सार्वजनिक भएपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो। उक्त श्रव्य सामग्रीमा एमालेकै अर्का पूर्वमन्त्री बलराम अधिकारीको नामसमेत लिइएको छ।
अधिकारीको संलग्नता अहिले स्पष्ट नभइसकेकाले अनुसन्धान जारी रहेको र त्यो सकिएपछि पूरक अभियोग लैजान सकिने अख्तियार स्रोतले बताएको छ।अख्तियारले मालपोत कार्यालय, कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, बिचौलियाको काम गर्ने घरजग्गा व्यवसायी सुजन लामा भन्ने सुजन कुमार तामाङ, खेम पुन भन्ने खमबहादुर पुन, यामकुमारी गुरुङ र तुल्सीराम बुढा मगरलाई पनि यस मुद्दामा प्रतिवादी बनाएको छ।यस मुद्दामा पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ तथा बिचौलिया तामाङ, गुरुङ र बुढा मगरलाई ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ भने मालपोत अधिकृत अधिकारीलाई ५३ लाख र खेम पुनलाई २५ लाख बिगो तोकिएको छ।


























Discussion about this post