इटहरी । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफू अहिले कुनै राजनीतिक दलसँग संवादमा नरहेको स्पष्ट पारेका छन् ।ज्ञानेन्द्रकुमार तामाङको नेतृत्वको नयाँ खोलिएको राजनीतिक दल उज्यालो नेपाल पार्टीसँग संवादमा रहेको भनी गरिएको प्रचारको मन्त्री घिसिङले खण्डन गरेका हुन् ।
सो पार्टीका विषयमा आज भर्चुअल बैठक गर्न लागिएको र त्यसमा आफू पनि सहभागी हुने भन्ने समाचार आएपछि कुलमानले त्यसलाई अस्वीकार गरेका छन्।‘नयाँ दल भनिएकोसँग कुनै कुरा भएको छैन, यसअगाडि पनि छलफल भएको होइन’ उनले सञ्चारमाध्यमसँग भने, ‘प्रचार गरिएजस्तो जुम मिटिङमा पनि म सहभागी हुन्नँ ।’
केही समयअघि प्रभु साह नेतृत्वका आम जनता पार्टी (आजपा) बाट अलग भएको तामाङ नेतृत्वको समूहले उज्यालो नेपाल नामक पार्टी दर्ताका लागि निर्वाचना आयोगमा निवेदन दिएको छ । सो दलले यसबारे छलफल गर्न जुम मिटिङ राखिएको र त्यसमा उज्यालो नेपालका अभियन्ता मन्त्री कुलमान घिसिङसमेत सहभागी हुने प्रचार गरिएको थियो ।मन्त्री घिसिङले आफूलाई नसोधी फोटो राखेर प्रचार गरिएको भन्दै आपत्तिसमेत जनाएका छन् ।
तत्कालीन ओली सरकारले कार्यकाल बाँकी छँदै नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट अपमानपूर्ण ढंगले निकालेपछि घिसिङले ‘उज्यालो नेपाल अभियान’ घोषणा गरेका थिए।जेनजी आन्दोलनपछि गठित नयाँ सरकारमा घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ सँगै सहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हालेका छन् ।



























Discussion about this post