इटहरी । पूर्वराजा ज्ञानेन्द्र शाहले देश बिगार्ने, भत्काउने काम बढी भएको भन्दै अब सपार्नतिर ध्यान दिनुपर्ने बताएका छन् ।दसैँको अवसरमा शुभकामना सन्देश दिँदै पूर्वराजाले बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे, भन्दै अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ भनेका छन् ।
उनले नयाँ पुस्ताको अभिलाषा र इच्छालाई हाम्रो राज्य व्यवस्थाले समेट्नै पर्ने प्रस्ट पारेका छन् । युवा पुस्ता हाम्रा भविष्यका आधारस्तम्भ रहेको उल्लेख गरेका छन् ।
युवा पुस्तामा निहीत देशभक्तिको भावना, ऊर्जाशक्ति र नवीन सोचले मात्र राष्ट्रलाई बलियो, समृद्ध र आत्मनिर्भर बनाउने बाटोमा लैजाने प्रस्ट पारेका छन् । ‘हाम्रै देशको दर्पणमा हामी हाम्रो अनुहार हेरौँ । बिगार्ने, भत्काउने, जलाउनेतिर नै हाम्रो राजकाज धेरै खटि परे,’ उनले भनेका छन्, ‘अब बिगार्ने होइन, सपार्नेतिर हाम्रा कार्यक्रम अघि बढ्नु पर्दछ ।’
पूर्वराजा ज्ञानेन्द्रले सही, सत्य, अग्रजहरूको आदर गर्ने, मर्यादा र अनुशासन कायम राख्ने, राष्ट्रलाई माया गर्ने राष्ट्रिय सोच एवं चेत पनि हुनै पर्ने शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले सन्देशमा भनेका छन्, ‘जे भयो भयो, जे जे नहुनु थियो, त्यो सबै भयो । अबको नयाँ पुस्ता, आउँदै गरेको नयाँ समय, आशा, विश्वास र भरोसाका साथ अघि बढोस् ।’
हाम्रा पूर्वजहरूले नेपालको एकता, अखण्डता, सार्वभौमिकता र सम्प्रभुताको रक्षा गर्न दिएका त्याग र बलिदान नै हाम्रो अस्तित्व, स्वाभिमान र गौरबशाली संस्कृतिको मेरुदण्ड रहेको पूर्वराजा शाहले प्रस्ट पारेका छन् । ‘यही आधारमा नेपाल सदा स्वतन्त्र र स्वाभिमानी राष्ट्रका रुपमा उभिएको छ,’ शुभकामना सन्देशमा भनिएको छ, ‘कुनै परनिर्भता वा भूराजनीतिक चक्रव्यूहमा नफसी आफ्नो बाटो आफैँ तय गर्ने सामर्थ्य राख्दै अखण्ड नेपाललाई नवनिर्माण गर्नु परेको छ ।’
उनले नवदुर्गा भवानीको पूजा आराधनाका साथ परम्परामा शुभेच्छा, सद्भाव आदान–प्रदान गरिने दसैँ पर्वको शुभ अवसरमा नेपालभित्र र बाहिर रहे–बसेका सबै नेपालीमा सुख, शान्ति र समृद्धिका निम्ति शुभकामना व्यक्त गरेका छन् ।

























Discussion about this post