इटहरी । ३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती (गोरे) कारागार फर्किएका छन् । यसअघि आफन्तमार्फत कारागार फर्किने सन्देश पठाएका गोरे अहिले भने कारागार फर्किसकेका छन् । उनी केही दिनअघि मात्रै कारागार फर्केको स्रोतले बतायो ।
जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।
प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो । छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो । ९ जना प्रहरीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता भयो । तर एक किलो पनि सुन भेटिएको थिएन ।
प्रहरीले सुन बरामद गर्न नसकेकै कारण जिल्ला अदालत, मोरङले सबैलाई सफाइ दिएपनि गोरेलाई कर्तव्य ज्यानको मुद्दामा भने जन्मकैदको फैसला गरेको थियो ।न्यायाधीश भरत लम्सालको इजलासले १९ असोज २०७८ मा सनम शाक्य हत्या अभियोगमा गोरेसहित ६ जनालाई जन्म कैदको फैसला सुनायो । एक जनालाई ३ वर्ष र अर्का एक जनालाई ६ महिना कैदको सजाय सुनाइएको थियो ।



























Discussion about this post