इटहरी । भदौ २३ र २४ मा भएको जेन-जी आन्दोलनपछि नेपालीको ठूलो रोजगार गन्तव्य यूएईले अनौपचारिक रूपमा भिसा एप्रुभल प्रक्रियालाई रोकेको छ । भिसाको एप्रुभल प्रक्रिया रोकिएसँगै भिजिट भिसा र कामदार भिसामा यूएई जान खोजेका ठूलो संख्याका नेपाली प्रभावित बन्न पुगेका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष राजेन्द्र भण्डारीले जेन-जी आन्दोलनसँगै नेपालीहरूलाई यूएईले भिसा स्वीकृत गर्न छाडेको बताएका छन् । उनले त्यहाँका कम्पनीले नेपाली कामदार माग गरे पनि अध्यागमनले भिसा स्वीकृत नगरेपछि पछिल्ला दिनमा कामदारका लागि भिसा आवेदन प्रक्रिया नै अगाडि नबढेको बताए ।
तथ्यांकअनुसार वैदेशिक रोजगार गन्तव्यका हिसाबले यूएई नेपालीहरूको प्रमुख गन्तव्य हो । गत आर्थिक वर्ष ०८१/८२ मा त्यस देशमा रोजगारको लागि दुई लाख ७४ हजार ५८१ जना युवा युवती गएका थिए, जुन संख्या अन्य वैदेशिक रोजगार गन्तव्य मुलुकको तुलनामा सबैभन्दा धेरै हो ।
पूर्वअध्यक्ष भण्डारीले जेन-जी आन्दोलनपछि यूएईले सुरक्षा चासो देखाएर नेपालीको भिसा स्वीकृत नगरेको हुनसक्ने बताएका छन् ।‘यूएईमा दिनकै ५/६ सय सम्म भिसा स्वीकृत भइरहेको हुन्थ्यो, तर अहिले भिसा दिएको छैन’, उनले भने, ‘कारण हेर्दा अहिले ब्यान्ड भनेर ब्यान्ड नै त गरेको छैन, पुलिस रिपोर्ट माग्न थाल्यो भन्ने कुरा छ, जुन यहाँबाट कैदी-बन्दी भागे, ती कैदी-बन्दी त्यहाँ पुगे भने त्यहाँको समाजलाई नै असर गर्ने जस्तो देखिन्छ ।’
अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले भने अहिलेसम्म विगतमा भिसा लागेका नेपाली जान नरोकिएको बताएका छन् ।उनले शनिबार मात्रै एक हजार तीन सय ४६ जना नेपाली यूएई गएका छन् । आइतबार साढे १२ बजेसम्म पनि तीन सयजना नेपाली यूएई प्रस्थान गरेको उनले बताए, जसमा कामदार र भिजिट भिसा दुवै खाले नेपाली छन् ।



























Discussion about this post