इटहरी डेस्क । पोखरामा नाबालिगमाथि बलात्कार प्रयास भएको घटनामा आरोपीलाई उठबस गराएर मिलापत्र गरेको पाइएको छ ।पोखरा महानगरपालिका–२९ का ३० वर्षीय सुमन भण्डारीले एक बालिकामाथि बलात्कार प्रयास गरेका स्थानीयको आरोप छ ।
बुधबारको उक्त घटनामा पिडक बालिकाको कोठामा सुटुक्क पस्छन् । बालिका उठेर बत्ती बाल्दा ती व्यक्तिलाई देखेर चिच्याउँछिन् । पिडक हतारमा आफ्नो मोबाइल छाडेर भाग्छन् । भोलिपल्ट पीडित परिवारले टोल विकास समितिमा खबर गर्यो । समितिले ती युवकलाई सामान्य माफी मगाएर छाड्यो ।
तर, पीडित परिवारलाई चित्त नबुझेपछि उनीहरू वडाध्यक्ष श्रीप्रसाद गुरुङकहाँ पुगे ।वडाध्यक्ष गुरुङले टोल विकास समिति, महिला समूह, स्थानीय अगुवा, आरोपित युवक र पीडित परिवारलाई राखेर छलफल गराए ।छलफलपछि वडा सचिव समेतको संलग्नतामा आरोपीलाई २५ पल्ट उठबस र पीडित बालिकाको खुट्टा ढोग्न लगाएर मिलापत्र गराइएको हो ।
वडाध्यक्ष गुरुङले युवकलाई माफी मगाएर अब आइन्दा यस्तो नगर्ने र गरेको खण्डमा कानुनी कारबाही जाने निर्णय गरी मिलापत्र गरेको बताए ।मुलुकी अपराध संहिता, २०७४ ले १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरकी बालिकालाई करणी सम्बन्धी कसुर गरेमा पीडकलाई १८ देखि २० वर्षसम्म कैदको व्यवस्था गरेको छ ।
करणी सम्बन्धी उद्योगमा भने त्यसको आधा सजाय हुन्छ । बालिकाले प्रहरीमा जाहेरी दिएर कसुर ठहर भएमा भण्डारीलाई ९ देखि १० वर्षसम्म कैदको सजाय हुन सक्छ । तीन वर्षभन्दा बढी कैद सजाय हुने कसुरमा मिलापत्र गर्न नहुने कानुनी व्यवस्था छ ।
करणीसम्बन्धी कसुरमा मिलापत्र गराउनमा संलग्न व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ । सार्वजनिक पद धारण गरेको व्यक्तिले गरे वा गराएमा निजलाई थप ६ महिना कैद सजाय हुन्छ ।



























Discussion about this post